कृति : लयब्रह्म
विधा : कवितासंग्रह
कवि : श्यामल
मानविय चेतनालाई अत्यन्तै बलशाली ढंगले प्रवाहित पार्नसक्ने सामाथ्र्यका कवि हुन श्यामल । यस्तै छ उनको यो कविता कृति ।
बिम्ब र प्रतिकको बेजोड सहभागितामा बुनिएका २५ थान कविताहरु यस कृतिमा समावेश छन् । सँख्यात्मक रुपमा कम तर गुणवेत्तताले बेजोड कविताहरु लेख्न मन पराउने कवि श्यामलका समकालीन जीवनप्रति लक्षित भएर लेखिएका कविताहरु छन् । उनले कवितामा जीवनप्रतिको आशावादी भाव प्रकट गरेका छन् । समाज र यसका सरोकारका विषयहरु कवितामा उछालेका छन् । पाठकको मष्तिष्क ह्रल्लाउने क्षमताका कविता छन् ।
उनको भावना छ प्रकृतिका अनेकौं विषयमा कविता लेख्न सकिन्छ तर मानिस जातिलाई वेवास्ता गरेर कविता लेख्नु उपयुक्त हुँदैन् । कवितामा जीवनवोध हुनुपर्दछ । कविताले जीन्दगीलाई विशष्ट ढंगले बुझ्न सक्यो भने शक्तिशाली कविता बन्छ । हो यसै धारणाले लेखिएका कविताहरु यस कृतिमा छन् । आममान्छेले जिन्दगी जीउन गरेका दुख र संघर्षका कथाहरु कविता बनेर आएका छन् । यसैले भन्न सकिन्छ उनका कविताले पाठकहरुमा अमिट छाप छोड्न सक्छ ।
प्रस्तुत कृति लयब्रह्म पहिलो पटक वि.सं.२०६० सालमा कालचक्र,नेपालले प्रकाशनमा ल्याएको हो ।
कृति : आँखाको दूरबीनबाट एक दिन
कृतिकार : मुकुन्द ढुंंगेल
विधा : कथासंग्रह
रोचक र रमाइला कथा लेख्न खप्पिस कथाकार मुकुन्द ढुंगेलका २१ थान विषयगत विविधाका कथाहरु यस कृतिमा समावेश छन् । संक्रमणकालीन समाजका समस्याहरुमा घोत्लिएर लेखिएका त्यतिखेरका परिवेशका कथाहरु छन् र कथाकार समाजलाई बुझ्छन् र कथामा उधिन्छन् । उनका कथा शिर्षक छोटा छन् । कथाह्ररु लम्बेतान छैनन् मझौला कदका छन् । सम्बादात्मक छन् । कथामा ब्यँगचेत पनि भरिएका छन् । जनावरहरुको बिम्बमा कथाहरु प्रस्तुत भएका छन् । कथामा तत्कालिन समय मात्र छैन् अनागत पनि छ । निष्कर्षमा भन्नु पर्दा उतिवेलाको नेपाली समाजको परिवेश र समस्याप्रति संवेदनशील भएर कथाहरु रचिएको देखिन्छ ।
पाठकलाई तान्ने सामाथ्र्यले भरिएका कथाहरु दुरुह र क्लिष्टता भन्दा पर छन् ।
आँखाको दूरबीनबाट एक दिनलाई नेपाल प्रज्ञा प्रतिष्ठानले २०४३ सालमा पहिलो पटक प्रकाशित गरेको हो ।
शंकर लामिछानेका निबन्ध
विधा :निबन्धसंग्रह
सम्पादक :शिव रेग्मी
नेपाली साहित्यमा शंकर लामिछाने चिनाइरहनु परोइन । उनी नेपाली साहित्यका सशक्त निबन्धकार हुन् । उनले अनेक विधामा कलम चलाएपनि निबन्धमा उनी मज्जैले जमेका हुन् । मदन पुरस्कार विजेता हुन् उनी ।
बौद्धिक छन् उनका निबन्ध । आत्मपरक छन् । नेपाली निबन्धमा उनले नयाँ शैली प्रवेश गराए । उनका निबन्धहरु बोलीचालीका भाषामा मिसिएका हुन्छन् । निजात्मकताले लछप्पै भिजेका हुन्छन् । सुनेर,देखेर,बुझेर,पढेर र अनुभव आर्जन गरेर लेखिएका निबन्धहरु यसमा छन् ।
यस संग्रहमा लामिछानेले पछिल्लो कालखण्डमा रचना गरेका निबन्धहरु समावेश गरिएको छ । जीवनका भोगाई र त्यसका विसंगति पनि निबन्धका विषय छन् । उनका निबन्धहरुले जीवन र जगतको अन्र्तवोध गर्छन भने चेतनामयी प्रवाहमा निबन्धको उडान भर्छन् । यस्तै ३४ थान निबन्धहरुको संग्रह हो यो । विसंगत चेतना र प्रयोगशीलता उनका निबन्धका विशेषता हुन् ।
देवकोटापछि उनी निबन्धमा प्रख्यात छन् ।
शंकर लामिछानेका निबन्धलाई साझा प्रकाशनले पहिलो पटक वि.सं.२०५९ सालमा प्रकाशनमा ल्याएको हो ।