
दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ सांगेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडी दुर्घटनाको तीन दिन बितिसक्दा पनि फेलापर्न सकेको छैन ।
दुर्घटनामा परेको गाडी तथा त्यसमा सवार यात्रुको खोजी कार्य अत्याधुनिक उपकरणको प्रयोगसहित निरन्तर जारी रहेको छ ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी गत शुक्रबार सडकबाट करिब छ सय मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनापछि गाडी नदीको तीव्र बहावमा हराएको आशंका गरिएको छ । हालसम्म गाडीमा कति यात्रु सवार थिए भन्ने यकिन विवरणसमेत सार्वजनिक हुन सकेको छैन ।
नदीको गहिराइ, तीव्र बहाव तथा भौगोलिक जटिलताका कारण खोजी कार्य निकै कठिन बन्दै गएको अधिकारीहरूको भनाइ छ ।गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले विशेष गोताखोर टोली परिचालन गरेको छ ।

