rain
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ।
अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको महाशाखाले जनाएको छ।यस्तै,मधेस प्रदेशमा आंशिक बदली भएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको पनि महाशाखाले जानकारी दिएको छ।
सोमबार देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने छ।गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बदली रहने छ।कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा भने आंशिक बदली हुनेछ।
यस्तै, हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका थोरै स्थानमा वर्षा हुने देखिन्छ।
कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराई भू(भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

