काठमाडौं ।नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक १५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ राजधानीमा एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ ।
साहित्यिक पत्रकारसंघ र मिलाप मासिकको संयुक्त आयोजनामा सम्पन्न उक्त समारोह केवल पुस्तक विमोचनको औपचारिक कार्यक्रममा सीमित रहेन, बरु समकालीन नेपाली साहित्यको भावधारामाथि गम्भीर विमर्श र संवेदनशील संवादको सशक्त मञ्चका रूपमा स्थापित भयो ।
प्रतिनिधिसभाका साँसद राजीव खत्री, पूर्व सांसद तथा कवि रेखा यादव, वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, राधेश्याम लेकाली खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटा, खनाल सेवा समाजका महासचिव माधव खनाल, मिलापका अध्यक्ष कृष्ण भुसाल लगायतले उक्त कृति लोकार्पण गरे ।
सामूहिक रूपमा लोकार्पण गरिएको ‘अन्तस्करण’ लाई वक्ताहरूले समकालीन नेपाली समाजको भावनात्मक दस्तावेजको रूपमा व्याख्या गरेका थिए । उनीहरूको भनाइमा, डा. उपाध्यायले यस कृतिमार्फत समयको बेचैनी, मानवीय सम्बन्धको जटिलता, सामाजिक यथार्थ, प्रेम, संघर्ष, आशा, आत्मसंवाद तथा जीवनका सूक्ष्म अनुभूतिहरूलाई अत्यन्त कलात्मक र संवेदनशील ढंगले अभिव्यक्त गर्नुभएको छ । कविताहरू केवल भावनाका अभिव्यक्ति नभई समाज र समयसँगको गहिरो संवादका रूपमा प्रस्तुत भएको वक्ताहरूको धारणा थियो ।
प्रमुख अतिथि सांसद खत्रीले डा.उपाध्याय नेपाली साहित्य, संगीत र सिर्जनात्मक क्षेत्रका अथक साधक भएको उल्लेख गर्दै उहाँका सिर्जनामा जीवनका बहुआयामिक अनुभूतिहरू मुखरित हुने बताए । उनले भने , ‘डा. उपाध्यायको लेखन केवल शब्दहरूको संयोजन होइन, समाजप्रतिको जिम्मेवारीबोध र मानवीय चेतनाको गहिरो अभिव्यक्ति हो ।’
समारोहमा अधिकांश वक्ताहरूले डा. उपाध्यायको बहुआयामिक प्रतिभाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । १५३ विश्व कीर्तिमान कायम गरेर नेपालको सिर्जनात्मक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको उल्लेख गर्दै उनलाई नेपाली सर्जनात्मक क्षेत्रको ऊर्जाशील, अनुकरणीय र प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रित गरिएको थियो ।
कवितासंग्रहको भावभूमिलाई थप सजीव बनाउने क्रममा कविद्वय सुमन थापा संगम र शोभा अधिकारीले संग्रहबाट एक–एक कविता वाचन गरे ।
कार्यक्रममा ‘अन्तस्करण’ को भूमिका लेख्ने वरिष्ठ साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल तथा स्रष्टा डा. डीआर उपाध्यायलाई विशेष सम्मान प्रदान गरिएको थियो । साथै प्रमुख अतिथि सांसद राजिव खत्रीलाई पनि बधाई तथा सम्मान अर्पण गरिएको थियो ।
स्रष्टा डा. डीआर उपाध्यायले साहित्य आत्माको आवाज भएको उल्लेख गर्दै ‘अन्तस्करण’ आफ्ना अनुभूति, भोगाइ, संघर्ष र समाजप्रतिको संवेदनशील दृष्टिको अभिव्यक्ति भएको बताए । उनले सिर्जनाले मानिसलाई अझ मानवीय बनाउने विश्वास व्यक्त गर्दै साहित्य समाजलाई जोड्ने सबैभन्दा सुन्दर माध्यम भएको धारणा राखे।
समापन मन्तव्य राख्दै सभाध्यक्ष राधेश्याम लेकालीले डा. उपाध्यायको व्यक्तित्व र कृतित्व नेपाली साहित्यका लागि महत्वपूर्ण प्रेरणाको स्रोत भएको उल्लेख गरे।
मिलाप पब्लिकेशनद्वारा प्रकाशित यस कवितासंग्रहमा ७९ वटा कविता समावेश छन् ।