काठमाडौं । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०८२ सालको ‘उत्तम शान्ति पुरस्कार’ प्रख्यात वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठद्वारा लिखित कृति ‘नेपाल गाथा’लाई प्रदान गर्ने निर्णय गरेको छ ।
गुठीद्वारा जारी विज्ञप्तिअनुसार वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथा लगायतका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तम शान्ति पुरस्कार’ समर्पण गर्दै आइएको जनाइएको छ । पुरस्कारका साथ नगद राशि एक लाख रुपैयाँ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
रोचक, सरल र प्रवाहपूर्ण भाषाशैलीका माध्यमबाट नेपालको विविधतायुक्त संस्कृति, गौरवशाली इतिहास, जातीयता र पर्यावरणीय वैशिष्ट्यलाई ‘नेपाल गाथा’ गैरआख्यान कृतिमा सफलतापूर्वक उजागर गरेकोमा उक्त कृतिका लेखक डा. तीर्थबहादुर श्रेष्ठलाई पुरस्कार प्रदान गरिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कार यही जेठ १२ गते समर्पण गरिने पनि गुठीले जनाएको छ ।