इन्द्रजात्राको माहोल नेपालका नेवाः वस्तीहरुमा छाएको छ। काठमाण्डौमा जोर्तोडका साथ मनाइने यस पर्वको रौनक तुलनात्मक रूपमा अरु स्थानमा अलिक कम देखिन्छ। तर हरेक स्थानमा आफ्नै विशेषताको साथ यस पर्व सञ्चालन हुने गरेको छ। काठमाडौमा इन्द्र ध्वज उत्थानको साथै कुमारी, भैरव र गणेशको रथ जात्रा, स्थानिय माजिपा लाखे र पुलुकिसीको आकर्षक प्रस्तुतिको साथसाथै इन्द्रजात्राकै लागि काठमाण्डौं आउने सवभक्कु, महाकाली नाच पनि अति मनमोहक छन्। सबै तिर काठमाण्डौंको येँ या: अर्थात इन्द्रजात्राको चर्चा परिचर्चा भै रहँदा ललितपुरमा मनाउने तरिका अलि भिन्न छ।
ललितपुरमा यस पर्व भाद्र शुल्क त्रयोदशी देखि सुरु भई असोज कृष्ण प्रतिपदा सम्म चल्ने गर्दछ। प्रत्येक दिन एउटा निश्चित क्षेत्रमा मनाइने यस पर्वको आकर्षक पाटो यसको रात्रिकालीन प्रदर्शनहरु हुन। यस वर्ष भाद्र ३१ गते बाट थालनी भएको इन्द्रजात्रामा उत्त दिन राति परे पछि मान्छेहरू आलको हिती र च्यासलमा जम्म हुन् थाले। आलको हितीमा हरेक वर्ष बुद्ध जीवनी सम्वन्धित कुनै न कुनै घटनाका झझल्को दिने मूर्तिहरू निर्माण गरेर प्रदर्शनीमा राखिन्छ। त्यस्तै च्यासलमा झ्यालिन्चा (छाँया चलचित्र) देखाउने कार्य हुन्छ। त्यसको भोलि पल्ट पाटन सुन्धारा सँगैको एउटा विहारमा शाक्यमुनी बुद्ध पूर्वजन्ममा मणिचुड राजकुमार भएर जन्मदा आफ्नो शिर छेड्न गरी मणि दान गर्दै गरेको मार्मिक शालिक प्रस्तुत गरिन्छ। यसको साथै महादेवको जटाबार गङ्गा बहिरहेको शालिक पनि प्रस्तुतिमा राखिन्छ। यी दुवै mechanical यान्त्रिक विधिबाट चलायमान हुन्छ्न। यस्तै किसिमको अर्को आकर्षक बाटचा द्यागु अर्थात बाटा बनाई रहेको पुतली mechanism येँ याको तेस्रो दिन अर्थात् आज असोज २ गते बुधबार पाटनको टंगल टोलमा हेर्न पाइन्छ।
पिताल र तामाका भाँडाकुदा बनाउन प्रख्यात टंगलका तमोट (ताम्राकार) परिवारहरू हुन। तिनै ताम्राकार परिवारमा जन्मिएका हुन् विद्याराज ताम्राकार(१९२९-२०१४) जो प्वास्या तमो माने “पेट दुःखाई” नामले पाटन शहरमा प्रख्यात भए। उनिको ख्यतिका थुप्रै कारण छन्। पहिला उनको उपनाम बाटै सुरु गरौं। राणा कालमा अहिले जस्तो औषधिको प्रयोग यहाँ आइसकेको थिएन। पखाला, पेट दुखाई इत्यादि पनि मृत्यको मुख बन्न सक्थ्यो। पारम्परिक आयुर्वेद चिकित्सा, घरेलु उपचार र वैद्य जस्ता थोरै विकल्प मात्र थिए। विद्याराज ताम्राकार पेटको दुःखाई फाकफुक गरी निको पार्नमा सिपालु थिए। उनलाई उपचारको लागि श्री ३ दरवारमा पनि दाकिने गरिन्थ्यो रे। तर, अन्य सरी उनी उपचारको कुनै शुल्क लिँदैन थिए। यो नितान्त उहाँको सेवा थियो र यो नै उहाँको विशेष पहिचान बन्यो।
दोस्रो उहाँको विशेषता, भग्नावशेष भई लुप्त रहेका पुरातात्विक स्थानको पहिचान अनि पुनर्स्थापन गर्नु हो। उहाँ आफ्नै तरिकाको Archelogical excavation पुरातात्विक उत्खननमा संलग्न थिए । उनले कसरी ती स्थानहरू पत्ता लगाउथे भन्ने कुरामा दुई मत रहेको पाइन्छ। कसैले उनीमा माटो जाँच गर्ने विशेष क्षमता थियो जसको परीक्षणद्वारा त्यहाँ रहेका भग्नावशेषको बारेमा उनलाई थाहा हुन्थ्यो भन्ने गरिन्छ। अर्को मत अनुसार उनी सपनामा ती स्थानहरूमा पुग्दथे र विगतका घटनाहरूलाई प्रत्यक्ष देख्दथे। यही सपनामा देखिएका घटनाको आधारमा उनी विभिन्न स्थान पहिचान गर्ने गर्दथे। आज हामी उनैका यी थुप्रै स्वप्न यात्राहरूमध्ये केहीमा जानेछौँ।
पवास्य बाजाले आफ्नो सपना चित्रकारकोमा गएर सुनाउने गर्नुहुन्थ्यो र त्यसको आधारमा चित्रहरू कोरिन्थ्यो र चित्रहरूको साथसाथै त्यो सपनाको विवरण पनि तल लेख्न लगाउँथे। यी स्वप्न यात्राका चित्रहरूबाट हामी पनि उहाँको अनवेशकीय स्वप्न यात्रामा अघि बढौँ।
उहाँले कोर्न लगाउनुभएका स्वप्नयात्राका विवरणहरू हरेक वर्ष काठमाण्डौमा रथ यात्रा सुरु भएको भोलि पल्ट, उहाँको घरको चोकमा प्रदर्शनी गरिन्छ। पहिला पहिला त्यसचोकमा हेर्न जाँदा बुढापाकाहरूले प्रत्येक चित्रमा आउने त्यसको कथा भन्ने गर्दथे। तर हाल यसरी बताउन सक्नेहरूको कमी आएको देखिन्छ। स्थानीयले बाहेक अरुले ती चित्रहरूको इतिहास र महत्त्वलाई भुलिसकेको झैँ लाग्छ। त्यसैले तिनलाई उजार गर्न सानो प्रयत्न हामी गरौं।
अधिकांस चित्रहरू पाटनको करुणामय सँग सम्बन्धित छन्। बुङ्गद्य: पनि भनिने पाटनको करुणामय उत्पत्ति, नेपाल आगमन देखि रथ जात्राका विभिन्न घटना परिघटना आफूले सपनामा देखि अनुरूप कोरिएका छन्। विद्याराजको सपनामा वेलाबखत धर्मदूत र देवदूत नाम का दुईजना आउने गर्थे जसले विद्याराजलाई निन्द्रा बाटा उठाएर आकाश मार्गबाटा विभिन्न स्थानमाहरुमा लाने र विभिन्न घटनाहरू देखाउनुको साथै त्यसको विवरण दिने गर्थे।
चित्र १मा करुणामय कर्कोटक नागराजमा सवार भै भिक्षुहरुको साथ साथै सेतो बँदेलमा सवार कलश हातमा लिएकी वनदेवीको अगुवाइमा उपत्यका प्रवेश गरिरहेको दृश्य पनि छ। उनै वनदेवी रथको ढोकामा मूल देवता पट्टी फर्केर बसी रहेको देख्न सकिन्छ। उहाँको पछि पछि बारह मुख भएका बाराहीहरुले पहरा दिँदै आएको देख्न सकिन्छ। यसको नेपथ्यमा पाटीमा बसेर नन्द्री भृङ्गी सहित मनुष्यहरू दाफा भजन गाउँदै गरेको देख्न सकिन्छ।

त्यस्तै चित्र नम्बर २ मा करुणामय रथयात्राको विवरण प्रस्तुत गरिएको छ। ने. सं. १०५१ मा लेखिएको उक्त तस्बिरमा आर्य करुणामयको रथमा चार पाङ्ग्रामा चारभैरव रहेको, ध:मामा दुईजना ब्रह्मा रहेको छन् भने शिव र विष्णु दुईतिर बसी चामार हम्मकाई रहेको देख्न सकिन्छ। रथको चुचुरोसम्म पञ्चबुद्ध विराजमान रहेको देखाइएको छ।त्यस्तै रथलाई दैत्य गणहरूले तानिरहेको देख्न सकिन्छ। महादेवगन र इन्द्रगन रथलाई सीधा राख्न प्रयोग हुने जङ्गल तान्न व्यस्त रहेको देख्न सकिन्छ। रथयात्रा पूर्व बाराही खलकद्वारा रथको पाङ्ग्रा निर्माण गरिरहेको दृश्य दफा गरिरहेको दाफा भजन गरिरहेको दृश्य र जात्राको अन्तमा आयोजना गरिने नकि भू नकेगु दृश्य पनि छ। यस थप एउटै तस्वीरमा १२ वता लोकेश्वरको स्वरूपसहित विभिन्न योगिनी गणहरू पनि अटाएका छन्।


त्यतै अर्को चित्र ३ मा रथ लगनखेलमा पुगेपछि गरिने चतुषष्ठी बलि को दृश्य प्रस्तुत गरिएको छ। जसमा द्वलं माजु मंदिरको दृश्य, मंदिरको पवित्र रुख, महास्नान मण्डप, चक्वा द्य:को रथ र दाँया पनि कुनामा तल्ले शैली मन्दिर बन्न अघिको महालक्ष्मी स्थान पहिचान गर्ने सकिन्छ।


चित्र ४ मा एक बालकको जन्म कमलको फूलबाट भएको देख्न सकिन्छ। करुणामयले सो बालकलाई आफूलाई सरी हेरचाह गर्न जिम्माल राजालाई लगाएको कुरा उल्लेख गरिएको छ। त्यसपछि ती बालकलाई महाराज शशी र उनका ५५४ सन्तानको लावालस्कर सहित दरवारमा प्रवेश गराएको दृश्य पनि उनले देखेका थिए। उक्त बालक सम्बन्धित अरु दुईवटा चित्रहरू पनि छन्। जसमध्ये एउटामा विसन्त बालकलाई चितवनको घना जङ्गलमा एक मुखी रुद्राक्षको रुख मुनि कठोर तप गरेको दृश्य र चक्रवर्ती राज्यारोहणको दृश्य पर्दछन्।


त्यस्तै चित्र ५ मा दक्षिणकाली सहित थुप्रै देवदेवीहरू भेला भएको देखिन सकिन्छ। यस चित्रमा दिएको विवरण अनुसार देवी दक्षिणकालीले भैरवलाई करुणामयलाई निमन्त्रणा गर्न पठाउँछ। भैरवले आफूसँगै देवसभामा मछिन्द्रनाथलाई ल्याउँछन्। सोही सभामा करुणामयले विभिन्न देवीदेवताहरूलाई विभिन्न जिम्मेवारीहरू पूरा गर्न आज्ञा दिनुहुन्छ। यसै क्षणको मनमोहक चित्र पनि यहाँ प्रदर्शनीमा रहेको छ।

सजाइएको लहरमा अत्यधिक सेतो र निलो रङ्ग पोतेको कैलाश मानसरोवरको दृश्य सजिलै चिन्न सकिन्छ। यस चित्रमा शिवजीको दर्शन पाएको एवं शिवजी पार्वतीसँग र ब्राह्मण विष्णु महेश्वरसँग जलविहार गरिरहनु भएको दृश्य पनि समावेश छ।

सपनामा काशी विश्वेश्वर दर्शनको चित्रमा पुरै राणा कालीन शैलामा छ। वरपर ब्राह्मणहरूले होम गरिरहेको, विभिन्न पूजापाठ गरिरहेको देख्न सकिन्छ। साथै गुफामा ऋषिमुनि पनि देख्न सकिन्छ।
पाटनको गाबहालमा रहेको बिहार जुन लुप्त भइसकेको थियो त्यसको स्थानको पहिचान गरी उत्खनन गरेर पुरातात्विक सामग्रीहरू भेटाई सोही स्थानमा नै एउटा नयाँ मन्दिर स्थापना गर्न विद्याराजको ठूलो योगदान छ। यस गाबहाल भन्ने स्थान पहिचान गर्नमा पनि विद्याराजका सपनाहरू सहायक थियो भन्ने कुरा उनले कोर्न लगाएका चित्रबाट प्रष्ट हुन्छ। यसै सन्दर्भका दुईवटा चित्रहरू हामीले प्रदर्शित हेर्न सक्दछौं। दुवै चित्रमा बीचमा भगवान बुद्ध विराजमान हुनुहुन्छ। एउटा चित्रमा बुद्धको अगाडि ठूलो भाँडोमा भोजन पकाइरहेको हामीले देख्छौ भने विभिन्न देवीहरुलाई भोजन गरिरहेको दृश्य त्यहाँ छ। त्यस्तै नै अर्को स्वप्नमा देखेको चित्रमा बुद्धका वरी विभिन्न देवीदेवताहरूको बादलमा भेला भएर वाद्यवादन सहित स्तुति गरिरहेको देख्न सकिन्छ।


अर्को रोचक चित्र लगनखेल गरेको एचिक सम्यक महादान सम्बन्धित छन्। एचिक सम्यक महादानका दुई चित्र छन्। जसमा सम्यक दानशाला, दानमा खेर गएको अन्न खान लुछालुछ गरिरहेका भूतप्रेत गण देख्न सकिन्छ। त्यस्तै १०३८ सालको एचिक सम्यकमा आवश्यक लईकोँ (मूलाको सिन्की बनाउने भाँडो) स्थापना विधिमा ३३ कोटी देवताहरूको उपस्थिति पनि रहेको चित्रित छ।

यस्तै रोचक १० वटा भन्दा बढि स्वप्न यात्राका दृश्यहरू आज र भोलि प्रदर्शनीमा रहनेछ। महालक्ष्मि र श्वेत भैरवको सानो मन्दिर रहेको विजयराजकै घरमा यो प्रदर्शनी आज साँझ देखि भोलि बिहानसम्म चल्नेछ। बाँकी तस्बिरहरू हेर्ने त्यही पुग्ने होइन त?
चित्र नं १ को तल दिएको टिपोट यसप्रकार रहेको छ:
ओं नमो लोकनाथाय ।। ।। श्रेयेsस्तु।। सम्बत १०६८ चैत्र कृष्णपक्षे सप्तमी शनिबार कुन्हु रात्रीस कोदुवालं श्री३ करुणामय देव विज्यागु सापनास केनगु. ज्यावल खेलं नसे घुसि न्ह्याचकाव कर्कोटक नागया म्हस विज्यानाव. तुयु म्ह वाराह गया विज्याकम्ह वनदेवी मालिनी नं कलश जोनकाव. वाराही पनिसेनं लिचकाव. म्हासु म्ह राक्षसं नं छत्रं कुयेकाव भिक्षुनं चामर गायकाव. पोंगा आदि बाज नं थातकाव (थती) स थ्येनकल विज्यागु। फलेचास नन्दी भिन्दि…मुनिश्वर आदि…नवि…नस………तिग्ल कोथु झोछें टोलया ताम्राकार प्वास्या विधिराजयात सपनास केनगु वृत्तान्त खँतयावथुगु प्रतिभार… …शुभ।।

स्व. श्री विद्याराज ताम्राकार