
ज्ञानेन्द्र विवश
रङहरूको सौन्दर्य भन्नु आँखाको प्रिय वस्तु हो । सौन्दर्य भन्नु मायाको यौटा विम्ब पनि । सबैलाई मन पर्ने कुरा । सबैको प्यारो कुरा । रङहरूमा नै हुन्छ सौन्दर्यका अनेक स्वरूपहरू ।
फूलहरूको रङ भन्नु । चराचुरुङ्गीको रङ देख्नु । प्रकृतिको रङसँग भेट्नु । सुन्दरताका प्रतीक र प्रदीप्ति यी सबै जीवनका रङहरू हुन् । यी सबै सौन्दर्यका रङहरू हुन् । यी सबै रङहरूका सौन्दर्यहरू हुन् । यी सबै–सबै रङहरूका खानीहरू हुन् । जहाँ यौटा रङ अर्कोसँग मिल्दैन । मिल्दैन र पनि नमिलेको वा भिन्न देखिँदैन । मिलेका रङहरूको संयोजनमा सौन्दर्यका रङहरू ।
फूल, चरा, प्रकृति यिनका सौन्दर्यभन्दा अझ सुन्दर रङ कहीँ पाइदैन । यिनको आफ्नै मौलिक सौन्दर्य जीवनको सुन्दर संरचना हो । सृष्टिको पृथक आकर्षणको आरम्भ हो ।
यिनलाई देखेर हाम्रा मन रमाउँछन् खुसीले । यिनको रूपरङमा नतमस्तक हुन्छन् आँखाहरू । हेर्नुपर्ने कुरा हेरेर सकिँदैन । देख्नुपर्ने दृश्य देखेर अघाइँदैन । यिनका रङहरूको वर्णन र व्याख्या गरेर सकिँदैन ।
यो सुन्दरता मात्रै होइन आँखाले देख्ने । यो फूलमात्रै होइन हामीले हेर्ने । आँखामा स्पर्श गर्न आउने मायालु रूपरङ छ मनै लोभ्याउने दृश्यका अनेक संरचनाहरू, अनि यसैमा छ साधनाको अटुट समर्पणका परिणामहरू ।

रङ संयोजनले पार्ने प्रभावहरू, परिपक्व कलाकारिताका जीवन्त अभिव्यक्तिका अथाह आयामहरू । म यिनै रङहरूमा विलिन छु। म यही सुन्दरतामा वशिभूत छु । म यही फूलहरूमा जीवनका यस्तै सुन्दर संसारको यात्रामा अग्रसर भइरहेको छु ।
प्रकृतिपरी । प्रकृति सुन्दरी । हृदयलाई स्पर्श गर्ने शक्ति ! धन्य छौ प्रकृति तिमी !
प्रकृतिभन्दा सुन्दर अरू केहीहुँदैन । प्रकृतिलाई मन नपराउने कोहीहुँदैन । प्रकृतिको रङजस्तो मौलिकता कतै मिल्दैन । प्रकृतिबाट पाइने ज्ञानजस्तो ज्ञान अरूबाट पाइदैन । प्रकृति सबैको गुरु–गौरव ।
त्यसैले प्रकृति परी सबैलाई मन परी !
रङहरूका कति थरि मिलन प्रकृतिमा । तिन मारङहरूको बैँसले भरिभराउ । सौन्दर्यहरूको बैंसले भरिभराउ । यिनको रङ अन्यत्र खोजेर पाइदैन । अर्को बनाएर बनाउन पनि सकिँदैन । त्यही रङहरूको सौन्दर्यमा खुलेको बैंशालु आकृतिका अनेक रूपहरू । रङ र सौन्दर्यको मिलनमा मिठासको अर्कै आनन्दको उपस्थिति ।
त्यही मिलनमा कति सुन्दर स्वरूप । जतिसुकै बैंशालु भएपनि बैंसले उम्लिएर पोखिएको हुँदैन । बंैसले कतै दोबाटा, चौबाटाहरूमा बरालिएको हुँदैन । बरु रङहरूको बिस्कुन फिँजाएर सौन्दर्यको अलग्गै आनन्द बाँडिरहेको हुन्छ ।
रङहरूको सौन्दर्यले मान्छेका मनहरूलाई तृप्त पार्दै । मौरी, भँवरा, पुतलीहरू फूलमै रमाउँछन्, लोभिन्छन्, झम्मिन्छन् । फूलकै रस चोर्न, चुस्न टाढादेखि वेग मारेर आउँछन् ।
अनेकौँ रङहरूको बेग्लाबेग्लै मिठास । अनेकौँ फूल, चरा र अरू धेरै जीवजन्तु तिनका रङहरूमा सुन्दरताले सजिएको हुन्छ । जुन एकअर्कामा मिल्दैन । भिन्न–भिन्न विभिन्न भएर पनि मतभिन्न हुँदैन ।
प्राकृतिक बनौटको संरचना नै कति प्रेमिल कि जहाँ जसकाआँखा पनि झुमिहाल्ने । रङहरूका अनेक रूपहरू आफैँ बिस्तारै देखापर्दै आउने । अचम्मका अनेक किसिमका रङहरू । तिनै रङहरूको सौन्दर्यले लट्ठै पार्ने । जसलाई पनि ती असाध्यै मन पर्ने । तिनको रङ–सौन्दर्यलाई नक्कल गर्न पनि नसकिने । त्यस्तै अर्को बनाउँछु भनेर पनि नसकिने रहेछ ।
सुहाउँदो, सुन्दर समायोजनमा हामीलाई प्राकृतिक आनन्द दिने । यहीहो अलिकति प्रेरणा पनि । अलिकति प्रेम पनि । अलिकति हर्षको आभास पनि । बाँचेको जीवनको देखाइपनि ।
आँखालाई शीतल अनुभूतिको बेग्लै स्वाद चखाउने । रङहरूकै कलात्मक उपस्थिति र त्यसले पार्ने प्रभावमा भावनाहरू सिर्जनशील बनेर प्रस्फुटित हुने ।
फूलको रङ भन्नु । चराको रङ देख्नु । प्रकृतिको रङसँग भेट्नु । ती भेटहरूका बेग्लै प्राप्ति, बेग्लै सन्तुष्टि । ती दृश्यहरूका बेग्लाबेग्लै दृश्य–रमण ।
रङहरूका सौन्दर्य शान्त, शीतल, निर्मल !जहाँ आँखाहरू आत्मीयताको विछ्यौनामा विश्राम गर्छन् । जहाँ मनहरू आनन्दको सागरमा तैरिन थाल्छन् । हृदय मङ्गल कामनाका आराधनाहरूमा नतमस्तक हुन्छन् । प्रकृतिका प्राकृतिक रङहरूको सौन्दर्यमा अनुभूतिहरू सकारात्मक सद्भावमा फैलिन थाल्छन् ।
यति भएपछि प्रगतिको फड्को मार्दै पाइलाहरू उत्साह उमार्छन् । सुरम्य वातावरण भएपछि पशुपक्षीहरू पनि उमङ्गले उल्लास व्यक्त गर्न थाल्छन् ।
प्रकृतिका तिनै रङहरू, तिनै रूपहरूलाई पछ्याउँदै, पहिल्याउँदै यात्रामा हिँडाउँछ लोभ्याउँदै आँखा र मनलाई ।रङहरूको सौन्दर्यले हाम्राआँखा र मनलाई पृथक मिठासको सञ्चार गराउँछ ।आँखालाई शीतल र मनलाई आराम भएपछि त्यो नै आरोग्य जीवनको रूप हो ।
त्यसैले रङहरू भन्नु सुन्दरताको अर्को नाम हो ।सुन्दरतासँगै समृद्धपन, पहिचान र परिवेश निर्माण हुँदा त्यहाँ धेरै सम्भावनाहरू जन्मिन्छन् । धेरै रङहरूको अझ धेरै अर्थ र अभिप्राय खुल्छन् । प्रत्येक रङले फरक–फरक अर्थ बताउँछ । त्यही अर्थले सुन्दरताको परिभाषा दर्शाउँछ ।
त्यही रङहरूका अनेकौँ सौन्दर्यको प्रभाव र प्रेरणाले सिर्जनाका मुल फुट्छन् । जहाँ कोमल भावनाका भेल बग्न थाल्छन् । कविता, गीत, कथा, उपन्यास, निबन्ध भएर भावुक भावना पोखिन थाल्छन् । प्रकृति प्रेमका गाथाले भरिपूर्ण सिर्जना कर्ममा मनहरू पग्लिँदै पोखिन थाल्छन् । अनुभूतिहरूका बाढीले प्रकृति प्रेमको, रङ–सौन्दर्यको प्रभाव प्रस्तुत गर्छन् ।

कलाकर्मीहरू क्यानभासमा आफ्नो खुबी देखाउन तल्लीन हुन्छन् । कवि, लेखकहरू तिनैको वखान गाउन रमाउँछन् ।दृश्यचित्रको उत्कृष्ट रचनाकालागि रङकै प्राकृतिक छटा छनौटमा पर्छन् । प्रकृतिका अनेक रङमा मन्त्रमुग्ध मनहरू क्यानभासमा तिनलाई उतार्न अग्रसर हुन्छन् ।
रङका विस्तृत आयामभरि आँखाले देख्नुसम्म देखिरहन्छ । हेर्नुसम्म हेरिरहन्छ । कस्तो रहस्यमय दृश्य रङहरूको ?कति मादक उन्माद रङहरूको स्वनिर्मित स्वरूपहरूको प्रस्तुतिमा । हामी सबैले खोजेको यही सौन्दर्य हो । यही सुखद अनुभूतिहरूको उपस्थिति हो । मनलाई प्रदान गर्ने प्रेरणा र प्रभाव हो ।
वास्तवमा रङहरू भएर नै रहरहरू हुन्छन् । रूपहरू अनेक देखा पर्छन् । मान्छेका कठोर मनहरू पग्लिन्छन् ।
आखिर रङ भएर संसार सुन्दर लाग्छ । रङ भएर हेर्नलाई पनि रमाइलो हुन्छ । रङ भएर वस्तुहरू चिनिन्छन् । रङले नै वस्तुलाई छुट्याउँछ । रङहरूकै कारण प्रत्येकको अस्तित्व स्थापित छ । रङले सौन्दर्य सम्प्रेषण गर्छ ।
रङ विनाको ‘श्याम–श्वेत’ स्वरूपमा सुन्दरता हुँदैन । रुखो र सुख्खापन मात्र देखिन्छ त्यस्तोमा । आँखा डुल्न सक्दैन त्यस्तोमा । मन रमाएर हराउन सक्दैन ती रङहीन दृश्यहरूमा । आँखा र मन रमाउनका लागिपनि रङहरूको छताछुल्ल छविहरू जताततै दृष्टिगोचर हुनुपर्छ ।
सुन्दरता कसलाई मन पर्दैन र ?त्यसमा पनि रङहरूको सौन्दर्य । सौन्दर्यमय रङहरूको इन्द्रेणी मिलन । रङ र सौन्दर्यको एकाकारमा सबै सिर्जनधर्मी मनहरू मनमोहक बनेर प्रस्तुत हुन्छन् ।
प्रत्येक फूलहरूको फरक–फरक रङहरूको सुन्दरता । पुष्पपत्र, केस्रा–केस्रामा रङहरूको व्याप्ति । चित्ताकर्षक रङहरूको सौन्दर्य । चराका प्वाँख, पखेरा, पुच्छरका रङहरूको अनौठो सुन्दरता ।
त्यही सुन्दरतामा मन हराउने रहेछ, लहराउने रहेछ । मन रमाउने रहेछ । रङहरूका सौन्दर्यले भुल्याउने रहेछ । रङहरूले रहर जगाउने रहेछ । उत्साह र उमङ्ग बढाउने रहेछ ।
प्रकृतिभन्नु रङहरूकै समष्टि रूप हो । यही प्रकृति नै हो प्रेरणा र प्रभाव । प्रकृति नै हो गुरु–गौरव । सिक्नु कति प्रकृति तिमीबाट हामीले ? हेर्नु कति सुन्दरता तिम्रा ! सारा रङका भण्डार तिमीमै छ । सारा खुसीका उच्छवास तिमीमै छ । बयान गरेर सकिँदैन । हेरेर थाकिँदैन, अघाइदैन ।
अथाह, अनन्त, असीम सौन्दर्यको आलोकमा उपस्थित । तिमीलाई यो बिहानीमा आँखाले आस्वादन गरेर नमन गरें । जय प्रकृति माता ! जय रङहरूको रङमय स्वरूप–संसार !









