
काठमाडौँ । नेपाली काँग्रेसले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई मध्यरातमा पक्राउ गरिएको, पत्रिका कार्यालयमा खानतलासी गरिएको तथा अदालतमा उपस्थित गराउँदा हत्कडी लगाइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
कांग्रेसले संवैधानिक विधि र स्थापित प्रक्रियालाई बेवास्ता गर्दै पत्रकार पक्राउ गर्ने, सञ्चारगृहमा खानतलासी गर्ने र हत्कडी लगाउने कार्यलाई गलत र अवाञ्छित भनेको छ।
कांग्रेसले उक्त घटनालाई स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने तथा नागरिकको सुसूचित हुने मौलिक अधिकार कुण्ठित गर्ने राज्यको नियतका रूपमा लिएको जनाएको छ। कानुनको पालना सबैले गर्नुपर्ने भए पनि राज्य संयन्त्रले पूर्वाग्रह र प्रतिशोधका आधारमा व्यवहार गर्न नहुने कांग्रेसको भनाइ छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता देवराज चालिसेद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
