
जनकपुर ।राजकीय सम्मानसहित वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको अन्त्येष्टि गरिएको छ।
जनकपुरधाम स्थित स्वर्गद्वारीमा डा. विमलको अन्त्येष्टि गरिएको हो। सोमबार राति स्वास्थ्यमा समस्या देखिएपछि साढे ११ बजे उनलाई अस्पताल भर्ना गरिएकोमा गए राति करिब पौने एक बजे मृत्यु भएको थियो।
वरिष्ठ साहित्यकार विमलको अन्त्येष्टिमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गणेश), मधेश प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्र लाभ कर्ण, सभामुख रामअशिष यादव, श्रम तथा यातायात मन्त्री शारदा देवी थापा, संघीय संसद मनिष झा लगायत सयौंको संख्यामा उपस्थिति थियो।
२००४ सालमा धनुषाको खिरखिरियामा जन्मेका डा. विमल नेपाली, मैथिली र हिन्दीमा स्नातकोत्तर गरेका थिए। उनले भाषा विज्ञान विषयमा पीएचडीको उपाधि समेत प्राप्त गरेका थिए। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस राराब क्याम्पस, जनकपुरधाममा नेपाली विभागमा शिक्षण गर्दै अवकाश प्राप्त गरेका उनी कयौँ सरकारी तथा गैरसरकारी संघ संस्थाद्वारा पुरस्कृत भएका थिए।
उनले धेरै पुरस्कार तथा सम्मान समेत प्राप्त गरेका छन् ।


