
काठमाडौँ। प्रज्ञा प्रतिष्ठानमा भएको नियुक्तिमा सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ।
तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य–सचिव तथा प्राज्ञसभा सदस्य नियुक्त भएका छन्। नियुक्तिको विवरणअनुसार २९ जना पदाधिकारी नियुक्त हुँदा सुदूरपश्चिमबाट एक जना पनि समेटिएका छैनन्।
जेनजी अगुवा रक्षा बमले तीनवटै प्रज्ञा प्रतिष्ठानमा भएको नियुक्तिमा सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै सरकारप्रति व्यङ्ग्य गरेकी छन्।
सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी तथा प्राज्ञसभा सदस्य नियुक्त गरेपछि बमले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति असन्तुष्टि जनाएकी हुन्।
उनले हालै नियुक्त गरिएका तीनवटै प्रज्ञा प्रतिष्ठानका पदाधिकारीमा सुदूरपश्चिमको प्रतिनिधित्व शून्य रहेको उल्लेख गर्दै सरकारलाई व्यङ्ग्य गरेकी छन्।
‘उफ्! कति झिक्कै माया हो सुदूरलाई,’ बमले फेसबुकमा लेखेकी छन्।
प्राज्ञसभा सदस्यतर्फ भने सुदूरपश्चिमबाट ९ जना समेटिएका छन्। तर, तीनवटै प्रतिष्ठानको नेतृत्व गर्ने कुलपति, उपकुलपति र सदस्य–सचिवलगायत पदाधिकारीमा भने प्रदेशको प्रतिनिधित्व हुन सकेको छैन।



