
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले स्नातकोत्तर तहअन्तर्गत व्यवसाय अध्ययन स्नातकोत्तर (एमबीएस) कार्यक्रमको साउन १५ गतेका लागि निर्धारित बजार व्यवस्थापन विषयको परीक्षा मधेश प्रदेशका परीक्षा केन्द्रमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।
महाशाखाले विशेष परिस्थितिका कारण ती परीक्षा केन्द्रमा मात्र परीक्षा स्थगित गरिएको स्पष्ट गर्दै स्थगित भएको विषयको नयाँ परीक्षा तालिका यथाशीघ्र सार्वजनिक गरिने जनाएको छ। साथै, सूचनामा उल्लेख गरिएका केन्द्रबाहेक अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुने जनाइएको छ।
स्थगित गरिएका परीक्षा केन्द्रहरूमा जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, सर्लाहीको सर्लाही क्याम्पस, मलङ्गवा र जनज्योति बहुमुखी क्याम्पस, लालबन्दी, सिरहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस तथा जे.एस. मुरारका बहुमुखी क्याम्पस, लहान रहेका छन्।
यस्तै, बाराको सिमरा कलेज, वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस, सप्तरीको श्री महेन्द्रविन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज र नेसनल पिपुल कलेज, कञ्चनपुर, साथै रौतहटका जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुर र गौरीशंकर यादव रौतहट क्याम्पस, गौर मा पनि परीक्षा स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ।

