
काठमाडौँ। लघुकथा समाज नेपालद्वारा बर्सेनि प्रदान गरिँदै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ यस पटक पोखराका लघुकथाकार अल्पविराम पोखरेलीलाई प्रदान गरिने भएको छ ।
लघुकथा प्रतिष्ठान पोखराका संस्थापक अध्यक्षसमेत रहनुभएका अल्पविरामको वास्तविक नाम भने विष्णुकुमार श्रेष्ठ हो र लामो समयदेखि उहाँ साहित्यिक क्षेत्रमा अल्पविरामकै नामबाट क्रियाशील हुनुहुन्छ । उहाँको ‘अनुभूतिका रङहरू’ लघुकथासङ्ग्रह प्रकाशित छ भने कविता, गीत र मुक्तक विधाका पनि कृति प्रकाशित छन् ।
लघुकथा समाज नेपालले भदौ ५ गतेलाई लघुकथा दिवसका रुपमा मनाउँदै आएको छ । विविध कार्यक्रम गरेर मनाइने दिवसकै अवसरमा लघुकथाकार अल्पविरामलाई उक्त सम्मान प्रदान गरिने लघुकथा समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त सम्मान कार्यक्रम सर्वनाम नाटकघरमा आयोजना गरिने र सम्मान प्राप्त लघुकथाकारका दुई वटा लघुकथा सर्वनामका कलाकारद्वारा मञ्चन गरिने समाजका अध्यक्ष तुलसीहरि कोइरालाले जानकारी दिनुभयो ।


