
काठमाडौँ। पत्रकार किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ । श्रेष्ठको हकमा उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन् । बिनाआधार पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न रिटमा माग गरिएको छ ।
बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि शुक्रबारका लागि पेसी तोकिएको छ । सरस्वतीले श्रेष्ठ बिरामी रहेको अवस्था समेत दर्शाउँदै आफूलाई भेटघाट गर्न समेत नदिएको दाबी समेत गरेकी छन् । श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरिएको थियो ।
यसैबीच,नेपाल बार एसोसिएसनले पत्रकार श्रेष्ठको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ ।
बारको मानव अधिकार तथा जनसरोकार समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई तत्काल र निशर्त रिहा गर्न सरकारसँग माग गरेको छ ।
समितिका सह–संयोजक अधिवक्ता डा. राजेन्द्र घिमिरे र सदस्य सचिव अधिवक्ता किरण न्यौपानेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गर्दै रिहाइको माग गरिएको हो ।
समाचारको विषयमा कुनै गुनासो भए प्रचलित कानुनी प्रक्रियामार्फत समाधान खोजिनुपर्ने विश्वव्यापी मान्यतालाई लत्याएर प्रहरीले धरपकड गरेको अवस्था दर्शाउँदै विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ ।
“समाचार लेखेकै आधारमा सञ्चारकर्मीलाई पक्राउ गरिनु, सञ्चार गृह बन्द गराउनु र परिवारका सदस्यहरूलाई मानसिक यातना दिने कार्य आधुनिक समयमा पटक्कै सुहाउँदैन,” विज्ञप्तिमा उल्लेख छ ।

