
कविता
जीवनको आकार
बोधराज पौडेल
सिकर्मीको हातमा परेपछि
काठमा आफैँ कलात्मक
बुट्टा बनिन्छ
पोलेपछि स्पातका पाताहरू
आरनबाट औंजारमा
परिणत हुन्छन्
कुम्हालेको चक्रबाट
हाँडी बनेर निस्कन्छ
माटोको आकार
विहीन डल्लो ।
यहाँ काठले छिनोको हजार
चोट सहेको छ
यहीँ फलाम आगो भएको छ
चक्रमा नघुम्दो हो त माटोको डल्लो
कसरी हाँडीको आकार ग्रहण गथ्र्याे ?
हिर्काएको छ
हथौडाले छिनाको टाउको
च्यापेको छ सनासोले
स्पातको नाक
बेलाबेला धागोले काटिन्छ
नमिलेको भाग
तव न निस्कन्छ एउटा रूप ।
धत ! चोट नहुँदो हो त जीवनमा
कसरी आउँदो हो ज्ञान !
मुल पलाउन पनि त वर्षात् चाहिन्छ ।
थाहै छ ‘क—ख’ सिक्न कति गा¥हो हुन्छ,
त्यै भएर त गुरुले कहिले हात,
कहिले लाठी समाउनु हुन्छ ।







