
म नित्य निरन्तर चिन्ताको चिन्तामा छु । चिन्ता मेरो खोजखबरको विषय बनेको छ । म जानेर पनि चिन्तामा हुन्छु, नजानेर पनि चिन्तामा हुन्छु । साँझबिहान, दिनरात जतिखेर पनि म चिन्ताको चिन्तनमा हुन्छु । म विपनामा पनि चिन्तामा हुन्छु, सपनामा पनि चिन्तामा हुन्छु । म विपनामा चिन्ताको सचेत चिन्तनमा हुन्छु, सपनामा अचेत चिन्तनमा हुन्छु । सपनाको चिन्तनलाई म विपनाको चिन्ताको चिन्तनको परिणाम ठान्छु । उसो त म सपना दिनमा पनि देख्छु, रातमा पनि देख्छु । यी दुवै सपना चिन्ताप्रतिको चिन्ताका परिणाम हुन् भन्ने लाग्छ मलाई ।
चिन्ता शब्द सुन्दा पनि सामान्यतः जो कसैको जिउ झसङ्ग हुने हुन्छ, जसरी चिन्ता शब्द सुन्दा मेरो मन झसङ्ग हुने गर्छ । मन तरङ्गित हुने गर्छ । चिन्ताले अवस्था अनुसार शोक, पिर, सुर्ता, फिक्री, परबाह, ध्याउन्न, दिकदारी, चिन्तन, विचार, कुनै पनि समस्याले मनलाई सताएको अवस्था आदि अर्थ दिने गर्छ । चिन्ता सकारात्मक-नकारात्मक दुवै हुने गर्छ । चिन्ता असल पनि हुन्छ, खराब पनि हुन्छ । चिन्ता व्यक्तिगत पनि हुन्छ, समूहगत पनि हुन्छ । चिन्ता आफ्ना लागि हुने, परिवारका लागि पनि हुने । चिन्ता टोल-छिमेकीका लागि पनि हुने, समाजका लागि पनि हुने । चिन्ता देशका लागि हुने, चिन्ता स्थानका लागि हुने । चिन्ता मानसम्मानका लागि हुने, कसैको हेलाहोचो-बदख्वाइँका लागि पनि हुने । अनि यही चिन्ता असल परमार्थ सिद्धिका लागि पनि हुने, खराब-नीच गतिविधिका लागि पनि हुने । चिन्ता कुल-वंश परम्पराका लागि पनि हुने । चिन्ता आफु अगाडिका बा, आमा, हजुरबा, हजुरआमा, बूढाहजुरबा, बूढीहजुरआमा समेतका तीन पुस्ता र आफु पछाडिका एक्काइस पुस्तासम्मको जोहो र कल्याणका लागि हुने । चिन्ता मावलीतर्फका त्यति नै नाता र पुस्ताका लागि हुने । चिन्ता फुपाजुको हुने । चिन्ता ससुराली र तिनका नातागोताको हुने । चिन्ता बाँचेकाको पनि हुने, मरेकाको पनि हुने । चिन्ता रोगी-विरामीको पनि हुने, सद्धे-निरोगीका लागि पनि हुने । चिन्ता काल-अकाल जुनसुकै अवस्थाले मृत्यु भएकाको पनि हुने । चिन्ता अझै लागि हुने, आफ्नाका लागि हुने । चिन्ता आफ्ना मात्र नभएर आफ्ना पति-पत्नी, छोरा-बुहारी, छोरी-जुवाइँ, दिदी-भेना, बहिनी-जुवाइँ, नातिनातिना- पनातिपनातिना, दाजु-भाइ, दिदी-बहिनी, सम्धी-सम्धिनी, जेठान÷जेठानी, सालासाली, देवर-देवरानी, नन्द-आमाजू, मित-मितिनी आदि कति हो कति ! सबैसबैका लागि हुने ।
चिन्ता त लिने तर केका लागि लिने ? भन्ने चिन्ताले पनि मलाई निरन्तर चिन्ताको चिन्तामा धकेलिरहेको हुन्छ । निरन्तर त्यसैमा चिन्तित तुल्याइरहेको हुन्छ । अनि म केका लागि चिन्ता लिने ? भन्ने प्रश्नको उत्तर खोज्न थाल्छु । उत्तर खोजाइको क्षेत्र स्वपरिवेश पनि हुन्छ, परपरिवेश पनि हुन्छ । म स्वपरिवेशमा मात्र सीमित नभएर परपरिवेशमा किन प्रवेश गर्छु भने– सबैको सृष्टिको परिवेश एउटै छ भने चिन्ताको परिवेशमा पनि अवश्य नै समानता हुन्छ भन्नेमा म विश्वस्त छु । सृष्टिका सबैको गाँस, बासको समस्या एउटै हो । खान धनीभन्दा धनीलाई पनि पर्छ, गरिबभन्दा गरिबलाई पनि पर्छ । रोजगारलाई पनि पर्छ, बेरोजगारलाई पनि पर्छ । विरामीलाई पनि पर्छ, सद्धेलाई पनि पर्छ । आरामको आवश्यकता स्वाभाविक रूपमा सबैको आवश्यकता हो । यसरी विश्लेषण गर्दा चिन्ताको चिन्तनमा डुब्न स्वपरिवेश जति आवश्यक हुन्छ, परपरिवेश पनि त्यत्तिकै आवश्यक हुन्छ ।
उच्चारणमा सहज दुई अक्षरको यो चिन्ता पढाइ-लेखाइका लागि हुने, सफलता-असफलताका लागि हुने । चिन्ता गाँस-बास-कपासका लागि हुने, स्वहित-परहितका लागि हुने । चिन्ता देश, विदेश विश्व ब्रह्माण्डकै लागि हुने । चिन्ता रोजगारीका लागि हुने, अनि फुर्सद-बेफुर्सद, काम-बेकाम सबै अवस्थामा हुने । चिन्ता पशुपन्छीका लागि हुने र रुख बिरुवाका लागि पनि हुने । चिन्ता अन्नपात, घाँसदाउरा, कुलोपैनी, बाटोघाटो, पानीपँधेरो, बिजुली, स्वास्थ्य, शिक्षा सबैसबैका लागि हुने । अचम्मको छ यो चिन्ता ।
चिन्ता कसैलाई कमाएको कसरी खर्च गरेर उडाउने भन्नेमा हुन्छ, कसैलाई कसरी खर्चको जोहो गर्ने भन्नेमा हुन्छ । कसैलाई कामको चिन्ता हुन्छ, कसैलाई मामको चिन्ता हुन्छ । कसैलाई दामको बढी चिन्ता हुन्छ कसैलाई नामको बढी चिन्ता हुन्छ । चिन्ताले कसैलाई छाड्दैन । चिन्ता व्यक्तिको टाउकोपिच्छे हुन्छ, घरको धुरीपिच्छे हुन्छ । चिन्ता भगवानलाई पनि हुन्छ, भगवान भक्तिमा होमिनेलाई पनि हुन्छ । चिन्ता बच्चामा पनि हुन्छ, वृद्धवृद्धामा पनि हुन्छ । चिन्ता किशोर किशोरीमा पनि हुन्छ, युवा र प्रौढमा पनि हुन्छ । चिन्ताको विषय र प्रकृति फरक होला तर चिन्ता सबैमा हुन्छ । कसैमा बेचिन्ताका विषयमा अस्वाभाविक चिन्ता होला, कसैमा चिन्ता गर्नुपर्ने विषयमा स्वाभाविक चिन्ता होला । यसरी हेर्दा चिन्ताबिनाको मानिस पाउन सायद सम्भव छैन । किनकि, कसैलाई हिजोका विषयमा बढी चिन्ता होला, कसैलाई आजका विषयमा बढी चिन्ता होला । कसैलाई भोलिका विषयमा बढी चिन्ता होला, कसैलाई भोलिका पनि भोलिहरूको बढी चिन्ता होला । कसैलाई वर्तमानको बढी चिन्ता होला, कसैलाई सुदूर भविष्यको बढी चिन्ता होला । अनि कसैलाई व्यक्तिगत, कसैलाई सामूहिक चिन्ता पनि होला । यस्तै छ चिन्ताको चिन्तन र समग्र परिवेश ।
चिन्ताका विषयमा कुरा गरिरहँदा मभित्र पनि चिन्ताका थुप्रै घडेरीहरू मौजुद रहेको महसुस म गरिरहेछु । नढाँटी भन्दा मभित्रको चिन्ता पनि अरूका जस्तै विविध विषयमा छन् । चिन्ताका क्रममा म कहिले देशका विषयमा सोचिरहेको हुन्छु, कहिले आफ्नो हितका विषयलाई केन्द्रमा राखेर सोचिरहेको हुन्छु । म कहिले समग्र समाज सोचिरहेको हुन्छु, कहिले समाजभित्रका मेराका विषयमा मात्र केन्द्रित भएर सोचिरहेको हुन्छु । म मान्छे । सृष्टिभित्रको एउटा प्राणी । मान्छे भएकै कारण समग्र मान्छेमा हुने मानवीय गुण ममा पनि छ । त्यही भएर म शक्तिमा हुँदा आफुलाई बढी सोचिरहेको हुन्छु भने शक्तिबाट बाहिरिएपछि देशलाई नारा बनाएर आफु चिन्ता सार्वजनिक गरिरहेको हुन्छु, कत्ति न साखुल्ले बनेर । यस्ता मानवीय गुणले जानीजानी म गाँजिँदा पनि मलाई कत्ति चिन्ता हुन्न । कत्ति पनि ग्लानी हुन्न । किनकि, मेरा अन्तरहृदयमा डेरा जमाइरहेका मेरा यी चाहना र चिन्ता अरूले बुझेकै हुन्नन् । त्यसैले देशभन्दा बढी आफ्ना विषयमा चिन्ता गरिरहँदा पनि म होनहार विशेषणसहित सबैका सामु शिर ठाडो बनाएरै दौडिरहेको हुन्छु ।
चिन्ताका स्वरूप फरकफरक हुन्छन् । यी विविध चिन्ताका परिणाम पनि फरकफरक हुन्छन् । कुनै चिन्ताले मानिसलाई उठाउँछ, कुनै चिन्ताले मानिसलाई ढलाउँछ । कुनै चिन्ताले मानिसलाई स्वस्थ बनाउँछ, कुनै चिन्ताले अस्वस्थ । चिनी पनि धेरै खाए तितो हुन्छ भनेझैं कुनै पनि विषयप्रतिको अनावश्यक बढी चिन्ताले मानिसलाई समयभन्दा अगाडि चितामा पुर्याउन सक्छ । यसर्थ कुनै विषयको चिन्ताप्रति चिन्तित हुनु पनि पर्छ, र कुनै चिन्ताको चिन्ताप्रति बढी चिन्तित हुनु पनि हुँदैन । यिनै कुरालाई चिन्ताको चिन्ताका रूपमा लिएर म निरन्तर घोरिइरहेको हुन्छु, चिन्ताको चिन्तनमा चाउरिइरहेको हुन्छु । परिणाम म जतिखेर पनि कुनै न कुनै चिन्ताको चङ्गुलले घेरिइरहेको हुन्छु ।
म भनेको म मात्र होइन, थुपै्र मको प्रतिनिधि पनि हुँ म । मको समूहसूचक शब्द हामी । हामी कतिपय भौतिक प्राप्तिको चिन्ता र कर्ममा कम र अभौतिक प्राप्तिको चिन्ता र लगावमा बढी लागिपरिरहेका हुन्छौँ । लोभिइरहेका हुन्छौँ । आसिइरहेका हुन्छौँ । त्यसैले हामी कोही कुनै न कुनै माध्यमबाट तेत्तिस कोटी देवताको गुहारमा हुन्छौँ, कोही जिजस क्राइस्टलाई परम प्रभु मानेर उनैसँग हारगुहार गरिरहेका हुन्छौँ । कोही बुद्धलाई गुहारिरहेका हुन्छौँ कोही अल्लाहलाई । कोही महावीर जैनलाई गुहारिरहेका हुन्छौँ कोही गुरु नानकलाई । दुई हात चलाउँदा सर्लक्क प्राप्त हुने भौतिक प्राप्तिलाई नजरअन्दाज गरेर हामी आ-आफ्नै आस्था र विश्वास अनुसार कोही कसैका र कोही कसैका अनुयायी बनेर अभौतिक प्राप्तिमा तल्लीन भएर लागिपरिरहेका हुन्छौँ । यसैमा रमाइरहेका हुन्छौँ । आ-आफ्नो चिन्ता र चिन्तन, विश्वास र आस्था प्रकट गरिरहेका हुन्छौँ । यसमा पनि कसैलाई लाग्दा चिन्ता होला, कसैलाई नलाग्दा चिन्ता होला । त्यसैले चिन्तारहितताको अवस्था जसो गर्दा पनि हुन्न ।
व्यक्तिबाट माथि उठेर देशको चिन्ताका विषयमा मात्र कुरा गर्ने हो भने चिन्ता सत्तामा बसेर देश विकासको सूत्र खोज्नेलाई पनि हुन्छ, बाहिर बसेर फतफताउनेलाई पनि हुन्छ । पक्षमा वकालत गर्नेलाई पनि हुन्छ, विपक्षमा डाँको उराल्नेलाई पनि हुन्छ । काम गर्नेलाई पनि हुन्छ, काममा अवरोध गर्नेलाई पनि हुन्छ । सत्ता बचाउन खोज्नेलाई सत्ता कसरी बचाउने ? भन्ने चिन्ता हुन्छ, सत्ता ढाल्न खोज्नेलाई सत्ता कसरी ढाल्न सकिन्छ ? भन्ने चिन्ता हुन्छ । तर यी दुवैको चिन्ता भित्री रूपमा जे जस्तो भए पनि बाह्य रूपमा देशकै नाममा केन्द्रित हुन्छ । देशको नाम र हितका कुरा भजाएर यिनीहरू आ आफ्नो कुरा सार्वजनिक गरिरहेका हुन्छन् । देशका लागि चिन्ता गर्ने आफुहरू जस्तो अरू कोही नभएको भान यिनले छरिरहेका हुन्छन् । देशको नाम भजाएर आफ्नो स्वार्थ पूरा गर्नु गराउनु यस्ता चिन्तकको धर्म हुन्छ । यी दुवै किसिमका वर्गमा तपाईं पनि पर्न सक्नुहुन्छ, म पनि पर्न सक्छु । यसमा ऊ पनि पर्न सक्छ, उनीहरू पनि पर्न सक्छन् । समग्रमा नदेखिने हिसाबले हामी सबै यिनैका पक्षपोषक हुन पुग्छौँ । कुनै कुरा नढाँटी भन्दाको तीतो यथार्थ यही हो ।
चिन्ता किन गर्ने ? जिज्ञासा यस्तो उठ्न सक्छ । चिन्ता किन नगर्ने ? जिज्ञासा यस्तो पनि उठ्न सक्छ । समाजमा चिन्ता गर्नुपर्छ भन्नेको जमात जति भेटिन्छ, त्यति नै चिन्ता गर्नुहुन्न भन्नेको जमात पनि भेटिन्छ । चिन्ताका पक्षमा यसरी बहस गरिरहँदा पछिल्लो समय म पनि चिन्ता गर्ने कि नगर्ने ? भन्ने कुरामा फेरि पनि चिन्तित हुन थालेको छु । समग्र मानवको कल्याणका लागि चिन्ता गर्ने कि आफुलागि मात्र गर्ने ? भन्ने विषय पनि मेरो चिन्ताको सूचीभित्र परेको छ । यसरी चिन्ताका विषयमा चिन्तित भइरहँदा आफु र आफ्नाका लागि मात्र चिन्ता गर्ने ? कि, यी कुरालाई गौण ठानेर देश विकासका लागि चिन्ता गर्ने ? भन्ने विषय पनि मेरो चिन्ताको पर्खालभित्र अनिर्णित अवस्थामा ठडिएको ठडियै छ । मभित्रको यस किसिमको मानसिक द्वन्द्व निरन्तर यसरी नै सलबलाइरहँदा पनि म भने देश पहिला कि आफु ? आफु पहिला कि देश ? भन्ने जिज्ञासाले अझै पनि गाँजिएको गाँजियै छु । तर पनि म एउटा निर्णयमा भने अवश्य नै पुग्नुपर्छ । यसमा ढिल्याइँ गरिनु कसैको पनि हितमा हुन्न ।
चिन्ताका विषयमा चिन्तित भएर एक पटक म आफैंले आफैंलाई प्रश्न गरेँ– मभित्र देश अटाएको छ कि ?, देशभित्र म अटाएको छु ? प्रश्न आफैं गम्भीर लाग्यो । म एकछिन टोलाएँ । भावविह्वल भएँ । दुवै आँखा सर्लक्क चिम्लिएँ । अनि दायाँबायाँ कतै नसोचेर यिनै कुरामा म निमग्न भएँ । क्षणभरमै मलाई एउटा मानसिक सन्देश प्राप्त भयो । सन्देश यस्तो थियो– ‘तँ बिना पनि देश अडिग रहन सक्छ, तर देशबिना तँ कदापि रहन सक्दैनस् । देशबिनाको तँ बाँचेर पनि त्यसको कुनै औचित्य छैन । त्यसैले तँ आफु र आफ्नालाई दोस्रो प्राथमिकतामा राखेर पहिलो प्राथमिकतामा देशलाई राख् । देशको चिन्ता गर् । किनकि, देश रह्यो भने तँ मरेर पनि बाँचिरहन सक्छस्, यदि देश रहेन भने तँ बाँचेर पनि मरे तुल्य हुनेछस् ।’
यो सन्देश प्राप्तिपछि म झसङ्ग भएँ । निद्राबाट बिउँझे झैं भएँ । दायाँबायाँ नसोची तत्काल मैले आफुलाई बिर्सेँ । आफुनालाई बिर्सेँ । अनि, बाँचुञ्जेल देशकै हितका लागि चिन्ता गर्ने अठोटमा आफुलाई रूपान्तरण गरेँ । मैले ठिक गरेँ वा बेठिक गरेँ ? त्यो भविष्यले बताउला । तर म मात्र रूपान्तरित भएर देश बन्दैन । देश बन्न म, तपाईं, हामी सबैको एउटै चाहना र चिन्ता हुनु आवश्यक छ । त्यसैले म आफु बदलिएँ भनेर कदापि ढुक्कसँग निदाउन सक्तिनँ । ममा अझै एउटा कुराको चिन्ता छ । त्यो के भने– म त देशका पक्षमा उभिएँ, उभिएँ । अब तपाईँ के गर्नु हुन्छ ? आफु र आफ्नाका लागि मात्र सोच्नु हुन्छ ? कि, देशका पक्षमा उभिएर मरणोपरान्त पनि बाँच्ने चाहना राख्नुहुन्छ ? त्यो अझै हेर्न बाँकी छ ।

