
नियात्रा
बरफको समुद्रः द हार्डिड आइसफिल्ड
विष्णुप्रसाद शर्मा पराजुली
सिवार्ड सहरवरपरको केनाई फियोर्ड राष्ट्रिय निकुञ्जको पर्वतीय दृश्यावलोकन र पदयात्रामा थिएँ । त्यता तिर लर्याङ -मर्याङ गर्दै लम्कँदा आँखा वरपर अल्पस पर्वत, माउन्ट ब्लाँको आधार शिविर चामोनि, चोयु (च्छोयु), खुम्बु, कन्चनजङ्घा हिमनदीको झल्को लाग्यो । सडक किनारमा हिमाल र अल्पसतिरका सल्लाका काठबाट बनाइएका साना काठे लज जस्तै लज देखिन्छन् । त्यसले युरोप, अमेरिका र नेपालका आदिबासीलाई जोडेको भान हुन्छ । उस्तै छन् छाप्रा, त्यस्तै गाढा हरियाली, चिरबिराउने चराहरू, उस्तै पूलहरू र दुरुस्तै गम्भिर ताल !
त्यहाँको प्राकृतिक सुन्दरता देख्दा डाहले म जलेको हैन, हाम्रोमा नभएको त्यही एउटो अलास्का समुद्र त हो नि भन्ने कुरा अनायस मनमा उब्जेको कुरो यहाँ इमान्दार भएर राखेको मात्र हुँ । यो अत्यन्त स्वभाविक हो, जस्लाई पनि आफ्नै देश र आफ्नै आमाबाबु प्यारो लाग्छ ।


समुद्रवरपर मछुवार, अमेरिकी आदिवासी जातिका घर, आरबी पार्क र घना वन छ । जमिनभित्र पसेको समुद्री धर्सो (फियोर्ड) छ । र, आँखा नझिम्क्याईकन हेरिरहुँ जस्ता लाग्ने
अमेरिकी तरुनी भन्दा आकर्षक ताल रहेका छन् । मन्द हवामा लहराई रहेको पूलहरूको छाया तालमा नृत्य गर्दा मन थाम्न नसकेर नीलो आकाश त्यही झरेको थियो । नेपालमा झैँ अलास्काको सिवार्डमा पनि केही घुम्तीहरू पार गर्दा प्रकृतिको नयाँ सुवास प्राप्त हुन्थ्यो ।
समुद्रीतटबाटै जुरुक्क उठेका पर्वत नीलमणिका गहनाजस्ता देखिन्थे । सिवार्डवरपरको जमिनको भूभाग पनि समुद्रजत्तिकै फराकिलो, आकर्षक र विविधतायुक्त छ । यहाँका पाखामा उत्तिस, सल्लो, लहरे पिपल, वैँश आदिको वन तथा ऐँसेलु प्रजातिको झाडी र पूलको लहर छ भने हिमनदी र समुद्री तट पनि सँगसँगै रहेका छन् । समुद्र, हिमनदी, पर्वत, वन सँगसँगै देख्नु कुनलुन, हिन्दुकुश, काराकोरम र हिमालयको दक्षिणमा बस्ने हामीलाई नौलो हो । यहाँको निकुञ्जले हिमनदी, वनस्पति, ताल, समुद्री किनार, यसवरपर रहेका जीवजन्तु र त्यसभित्र रहेका विभिन्न प्रकारका पदमार्गको संरक्षण र व्यवस्थापन गरेको छ ।
सिवार्डबारे अघिल्लो लेखमा थोरै चर्चा गरेको छु । यो सहर किनाई फियोर्ड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । सन् १९८३ मा स्थापना भएको यो निकुञ्ज अलास्काको मध्य–दक्षिण भागमा रहेको छ । यो निकुञ्ज २,३३३ वर्ग कि.मि. क्षेत्रमा फैलिएको अलास्का राज्यको सानो निकुञ्ज हो । सानो भए तापनि यसले ओगटेको क्षेत्रभित्र हिम युगको बरफ भएको, मानव हस्तक्षेप विहीन अभेद्य विकट (Wilderness) भएको र प्राकृतिक विविधता भएकाले यो निकुञ्ज आकर्षणमा विशाल छ ।
समुद्रको छालको किनारैबाट धरहराझैँ केनाई पर्वतका चुचुरा ठडिनु, पहाडका खोँच हुनु, यहीँ अमेरिकाकै सबैभन्दा ठुलो आइस फिल्ड हुनु, हिमनदी पग्लेर नदी बन्नु र ती नदी छोटो यात्रामा नै समुद्रमा विश्राम गर्नु जस्ता विविधता समेटिनु यो निकुञ्जको विशेषता हो । हिन्द महासागरमा मिसिन हाम्रो कर्णालीलले कति लामो यात्रा गर्नु पर्छ ? मैले के भनूँ र ?
अधिकतम डेढ कि.मि. मोटाइ भएको हार्डिड आइस फिल्डको बरफ खण्ड १८१३ वर्ग कि.मि. क्षेत्रमा फैलिएको छ । यसबाट बगेका ४० हिमनदीको क्षेत्र समेट्दा यो बरफले ओगटेको भूभाग २८४८ वर्ग कि.मि. हुन आउँछ । यहाँ वार्षिक ३३ फिट हिउँ जम्छ । हार्डिड आइस फिल्डले हिम युग (Wilderness) को प्रतिनिधित्व गर्छ । हिमनदीको बहावद्वार (Exit Glacier), नीला हिमशीला, हिमनदी, हिमताल र समुद्र निकुञ्का आकर्षणका गजुरहरू हुन् ।
हिउँदमा हिमनदीको वहाबद्वारसम्म कुकुर बग्गीमा चढेर, स्की गरेर र हिमजुत्ता पहिरेर जान सकिन्छ । वसन्तको अन्त र ग्रीष्ममा पैदलयात्रा गर्न सकिन्छ । हिउँदको समयमा निकुञ्जवरपर माइनस बिस डिग्री सेल्सियस तापक्रम हुँदा पनि त्यहाँ विभिन्न गतिविधि भएकै हुन्छन् । नेपालका उच्च पर्वतीय पदयात्रा मार्गका लजहरू बन्द भए झैँ यहाँका लज र कार्यालय बन्द हुँदैनन् ।

हिमनदी बग्ने ठाउँ र हार्डिड आइस फिल्डको प्रवेशद्वार सिवार्डबाट २० कि.मि. टाढा छ । २०२५ अगस्त २५ को बिहान ती दुवै खण्डमा पदयात्रा गर्नेगरी हामी बाबुछोरा निकुञ्जको प्रवेशद्वारतिर लाग्यौँ । एक्जिट ग्लेसिएर भन्ने विन्दुमा पुग्दा बरफका नीला ढिका ठडिएको, पग्लिएको, फुट्दै गरेको देखिन्छ । विसं. २०८३ भदौ १० गते नेपालको लाङ्टाङ लिरुङ (७,२३४ मि.)को उत्तरी मोहोडाको ५,२०० मिटरबाट ठूलो हिमशीलासहितको चट्टान एकैचोटी १,२०० मिटर तल खस्यो । चट्टानसहितको विशाल हिमशीला खस्दा ५.२ रेक्टर स्केलको भुकम्पको धक्का जस्तै धक्का आयो । त्यसबाट आएको ल्हेन्देखोला–भोटेकोशीको बाढीले नेपालमा प्रलय नै ल्यायो । यो सबैलाई बिदितै भयो ।
हिमालय पर्वत उच्च, ठाडो, भिरालो र नदी उपत्यका गहिरा र साँघुरा छन् । तर अमेरिकामा भएको, हामी पुगेको ठाउँको हिमनदी विशाल भए तापनि त्यो होचो छ र नदी उपत्यका फराकिलो छ ।
त्यहाँबाट बरफका चट्टान पग्लेर नदीको आकार लिएको प्रत्यक्ष देखिन्छ । हाम्रो पदयात्रामा हिमनदी बाहिर निस्केको भाग (Exit Glacier) र हिमनदी उत्पत्ति स्थल (Harding Ice Field) गरी दुई क्षेत्र समावेश थिए । नेपालमा यसरी ठूला हिमनदी हेर्न नजिकको क्हफुचे हिमनदी, अन्नपूर्ण प्रथम र माछापुच्छ्रे हिमनदी हुन भने ठूला हिमनदी जस्तै रोलवालिङ, खुम्बु, नोजुम्बा, धवलागिरि हेर्न टाढा र विशेष तयारीको यात्रा गर्नु पर्छ ।
किनाई फियोर्ड निकुञ्ज तथा समग्र किनाई प्रायद्विप (Peninsula)को महत्वपूर्ण ठाउँ हार्डिड आइस फिल्ड (बाक्लो हिमशीलाले ढाकेको विशाल क्षेत्र भएको ठाउँ) रहेछ । हिमनदीको उद्गम अवलोकन गर्न, बरफको सागर क्षेत्र हेर्न, हिमनदीमा पदयात्रा गर्न, हिमनदीका बरफ चट्टान आरोहण गर्न र धाँजा पार गर्नका लागि हार्डिड आइस फिल्ड ट्रेल बनाइएको रहेछ । हिमनदीको थाप्लोमा पुग्ने मुख्य मार्गको दुरी १२.६ किलोमिटरको छ । कुल १८१३ वर्ग कि.मि. क्षेत्रमा फैलिएको हिमनदीको दृश्यावलोकन केन्द्रमा पुग्ने यो प्रमुख बाटो हो । निकुञ्जको वर्गीकरणअनुसार यो कठिन पदमार्गमा पर्छ । हिउँदमा त्यहाँ पुग्न खुम्बु आईसफलमा जस्तै डोरी, आइस एक्स भर्याङ आदि लिएर जानुपर्छ भने ग्रीष्ममा सामान्यतया कास्कीको मर्दी हिमालको पदयात्रा जत्तिकै सहज हुन्छ ।
हिमालय, काराकोरम, अल्पस् पर्वतवरपर पदयात्रा गर्ने यात्रीको लागि यो कठिन होइन । समुद्र सतहबाट यात्रा प्रारम्भ गरी १,०५७ मिटरको उचाइसम्म चढ्नुपर्दछ । हाम्रो लागि त्यो उचाइ शिवालिक जस्तो पनि होईन । त्यसो भनेर पनि भएन यो बरफ भएको क्षेत्र हो । सुरुमा लहरे पिपल, म्यापल र कटन उडको वन छ । त्यसपछि सल्ला अनि घाँस, फूल, विभिन्न प्रकारका स्ट्र बेरि (भुई ऐँसेलु परिवार)को पखेरोमा पुगिन्छ । यो फल भालुको मिठो आहारा हुँदो रहेछ । यहाँ भालु चर्न आउँदा रहेछन् । घाँसे पखेरामा हाम्रो ढोरपाटन, रामारोशनका पखेरामा झैँ सयौँ थरीका पूल, जडीबुटी, स्ट्रबेरीका पूल फुलेर झुलेको आकर्षक दृश्य देखिन्थ्यो । त्यसपछिको खण्ड भने मोराइन र वनस्पतिविहीन आर्कटिक हावापानीको क्षेत्रमा पुगिन्छ । नेपालमा त्यस्तो पाखोमा पुग्न कम्तिामा तीन हजार मिटर चढनु पर्छ । त्यहाँबाट बरफ नदी, नदी र उपत्यका देखिन्छ ।

लाङ्टाङको लाङ्सिसा खर्क जस्तो छोटो चट्टाने पदयात्रा पार ग¥यौँ । करिव चार सय फिट लामो बाटो हिउँले पुरिएको थियो । हार्डिड आइस फिल्डको टुप्पोमा पुग्दा हावा जोडले चल्यो । यो पर्वतको माथिल्लो भाग माटो, बरफ र गेगर थुप्रिएर बनेको छ । यसलाई पर्माफ्रोस्ट (Permafrost) भनिन्छ । विश्वव्यापी तापक्रम बृद्धिका कारण प्रायः सधै अत्यधिक चिसो वा बरफले ढाकिने क्षेत्रको त्यस्तो वरफ पग्ल्यो । पग्ले पछि त्यसभित्र रहेको खतरनाक हरितगृह ग्यास बाहिर निस्कन्छ । जलवायुमा थप सङ्कट ल्याउछ । पहिरो जान्छ । नेपालमा थामे, तील, ल्हेन्दे–रसुवागढीका प्रलयकारी पहिरो र बाढी त्यसैको कारण हुन् ।
पर्माफ्रोस्ट पर्वतको चुचुरोदेखि दुई सय मिटर तल पश्चिममा हार्डिड आइस फिल्ड रहेको छ । हिमनदीको धाँजा (Crevasse)को डरले हामी हिमनदीभन्दा एक सय मिटर वर, उच्च स्थानमा बस्यौँ । त्यहाँबाट साँचो अर्थमा हिमयुगको झल्को दिने बरफको समुद्र टाढाटाढासम्म फैलिएको देखिन्थ्यो । अन्वेषकहरू र बरफ यात्रीहरू त्यसै क्षेत्रमा लामो समय बिताउँछन् । अमेरिका र युरोपमा हिमनदीबारे सयौँ वर्ष पहिलेदेखि गहन अध्ययन, अनुसन्धान भएका छन् । हामी त, अझैँ कति दसक अर्काले भनेको सुनेर पत्याउनु पर्ने अवस्थामा नै हुनेछौँ ।
हामी पुग्दा हावा अत्यधिक जोडले चल्यो । मुस्ताङको जस्तै बलौटे ढिस्कोको चेपमा छेलिएर बस्यौँ । त्यही मौकामा टोक्यौँ लन्च भनिने चीज र पाउरोटी । क्षणभर, मन भरिने गरी त्यो वरफयुगको बरफको समुद्र हेरेर रमायौँ ।
त्यस ठाउँबाट आँखाले ठम्याउन सक्नेसम्मको हिमनदीको विहङ्गम दृश्य देखिन्छ । मौकाको फाईदा उठाउदै हामीले पनि हिमनदीका हिमचरा (धाँजा), हिमनदी झर्दै गरेको मुख, हिमनदी पग्लेर बनेको मोराइन, नदी र फराकिलो उपत्यका अघाउन्जेल मज्जैले हेर्यौं । धेरै पहिले यो हिमनदी सिवार्डको समुद्री किनारसम्म नै फैलिएको थियो रे ।
जलवायु परिवर्तनको असर नेपाल हिमालय, हिन्दुकुश पर्वतमा मात्र होईन अलास्का र आर्कटिकमा पनि परेको छ । यहाँ पनि मोराईनको थुप्रो देख्दा हिमनदी क्रमशः उचाइमा सर्दै गएको विज्ञताहिन् मेरा आँखाले पनि ठम्याउँन भ्याउछन् । यही हिमनदीबाट चालिस अन्य हिमनदीका मुहान विभिन्न खण्डबाट बगेका छन् र समुद्रमा विश्राम गरेका छन् । हिमनदी दृश्यावलोकन तथा बरफ युगको झल्को दिने हिमनदीको समुद्र हेर्न, अमेरिकाकै ठुलो आइस फिल्डमा पाईला पार्न र वरफ अध्ययन तथा अनुसन्धान गर्ने भएकाले हार्डिड आइस फिल्ड अमेरिकाकै महत्वपूर्ण हिमनदी मानिँदो रहेछ ।
निकुञ्ज भालुको चरन क्षेत्र भएकाले कर्मचारीले एक्लै नहिँड्न, जङ्गलमा प्रवेश नगर्न, आवाज निकाल्दै वा गफ गर्दै हिँड्न, बच्चासहित भालुको माउ रहेछ भने थप होसियार हुन सचेत गराउँदा रहेछन् । हामीसँग नभए तापनि धेरै यात्रीले भालु भगाउने स्प्रे कम्मर पेटीसँगै झुण्ड्याएका थिए । भालुले झम्टन आईहाल्यो भने त्यो स्प्रे गर्दा अत्तालिएर भाग्दो रहेछ ।
त्यस दिन हामीले हिमनदी झर्ने मुहान (Overlook Loop Trail) को पनि अवलोकन गरेका थियौँ । हिमनदीबाट बरफ पग्लेर समथर भागमा पुगेपछि नदी नागबेली बनेर बगेको देखियो । त्यो देख्दा मैले माथिल्लो श्रीखर्कबाट हेर्दा मस्र्याङ्दी नदी नागबेली बनेर मनाङ गाउँतिर झरेकोे सुन्दर दृश्य आँखा वरपर देखेको थिएँ । उचाइमा भए पनि मनाङ उपत्यका समथर छ जहाँबाट मस्र्याङ्दी नदी सलल बग्दै गएर चामेबाट झरेपछि झरनाकारमा उफ्रँदै झरेको छ । यहाँ भने हिमनदीबाट खसेपछि समथर पेनिनसुलाको भाग भएर अलास्का समुद्रमा मिसिएको छ । बरफ युग तथा बरफको हलचल प्रत्यक्ष हेर्न र अनुभूत गर्न पर्वतीय क्षेत्रको रुचि भएका विश्व भरका पर्यटकको यो उच्च रोजाइको क्षेत्र पर्दाे रहेछ ।
अलास्का आउँदा नेपालको उच्च हिमाली खण्डमा पदयात्रामा निस्कँदाझैँ आफूसँग हुनुपर्ने मुख्य कुराः बर्सादी, पातलो हावा छेक्ने ज्याकेट, न्यानो पातलो लुगा, पदयात्रा जुत्ता, ऊनको टोपी, पन्जा, चस्मा, क्याप, क्यामरा आदि हुन् । थप के भने यहाँ तोकिएको बाटोमा मात्र हिँड्नुपर्छ । हार्डिड आइस फिल्डको बाटोमा शौचालय छैन । लामो शौच कार्य गर्ने बाध्यता भएमा बाटोबाट एक सय फिट टाढा गएर खाल्डो बनाएर शौच गरी दिसा गरी पुर्नुपर्छ र आची पुछेको टोइलेट पेपर आफूसँगै ल्याएर शौचालय भएको ठाउँमा राख्नुपर्छ । यसलाई निकुञ्जका कर्मचारीले निगरानी गरेका हुन्छन् । यहाँ नेपाली पारा निकालेर ‘आ.. कल्ले पो देख्छ’ र भनेर आची ग¥यो भने तुरुन्तै कारबाही हुन्छ । त्यसैकारणले त हो प्रकृति संरक्षण र व्यवस्थापन सुमधुर रूपमा सयौँ वर्षदेखि अविरल चलिरहेको छ । प्रकृतिको संरक्षण भई नै रहेको छ ।
सिवार्ड सहरसँग हामीले छोटो प्रेम गरेका थियौँ । सिवार्डको ठिक उत्तरमा एङ्कोरेज, पश्चिममा होमर सहर रहेको छ । पोलार बियर जम्प र सिवार्ड मरमेड सिवार्डका मुख्य पर्व हुन् । यहाँ जनवरीमा ६ र जुलाईमा १९ घण्टाको दिन हुन्छ । यहाँको अधिकतम तामक्रम २१ र न्यूनतम माइनस २९ डिग्री सेल्सियस पुग्छ ।
हार्डिड आइस फिल्डको पदयात्रा सम्पन्न गरेपछि सानो सुन्दर, माया लाग्दो, चिटिक्क परेको पर्वत, समुद्र र हिमनदीको मुहान भएको सहर सिवार्डसँग बिदा माग्यौँ । मन खिन्न भयो किनभने त्यो मनपर्ने एक स्थान हो जुन ठाउँमा मन लागेर पनि फेरि फर्कन असम्भव छ । त्यसलाई बिर्सने प्रयास गर्दै ह्वाइटिएर सहरसँग मितेरी गाँस्न त्यतै लाग्यौँ ।
समुद्रको सानो भाग समुद्री तटसँग जोडिएको जमिनको भित्री भागसम्म छिरेको छ । वरपर सफा निलो पानी भएको किनाई, क्रिसेन्टसहित विभिन्न प्रकारका पूल, रूख र घाँसले घेरिएका धेरै सुन्दर तालहरू राजमार्गवरपर छन् । ग्रीष्म ऋतुको अन्ततिर भए तापनि हरियाली गाढा छ हाम्रोमा भदौको हरियाली भए जस्तो । त्यसले पापी आँखालाई औधि लोभ्याउँथ्यो, सिक्लेस, कोरीको वनमा चाँप, टाँकी, लालीगुराँस र चिमालले लोभ्याएझैँ ।
अनकन्टार स्थानमा पनि यात्रीको ओहोरदोहोर भएकै छ । सडक भत्केको छैन । सराङकोट, बडिमालिका, कन्याम जस्तै देखिने हरियालीयुक्त पर्वतले नेपाल अगाडि ल्याइहाल्थ्यो । अनि, आँखाले कतै साइपाल, टुकुचे त कतै मेरा चुली देखिने हुन् कि भनेर चहार्न पुग्थे । हिउँदमा हिउँले पुरिने पर्वत त्यस बेला भने हरियालीले सजिएका थिए । त्यो मनमोहकतालाई मनमा मात्र सजाएर नपुगेर छोरालाई कार रोक्न लगाएर मन भरिने गरी हेर्थेँ । तस्बिर लिन्थेँ । मनजस्तो लोभी अरू के होला र ? जति हेरे पनि मनको थैली कहिल्यै नभरिने । त्यो भन्दा सुन्दर ठाउँ हेर्न, मूल मार्ग छोडेर हामी ऐतिहासिक सानो ह्वाइटिएर सहरतिर मोडियौँ ।






