
काठमाडौं । सरकारले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीबाट पूर्वाधारमा क्षति पुगेर विद्युत् अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा त्यसको भोलिपल्टदेखि नै पुनः विद्युतीकरणको कामलाई तीव्रता दिएको थियो ।
धादिङ र नुवाकोटका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनः सुचारु भइसकेको मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले जानकारी दिए ।
नुवाकोटमा भदौ २४ गते नै सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुगेको थियो । धादिङमा त त्यसअगाडि नै सबै ठाउँमा बिजुली पुनः सुचारु गरिएको मन्त्रालयले जनाएको छ ।
बाढीबाट सबैभन्दा प्रभावित रसुवाको पनि ९० प्रतिशत ठाउँमा बिजुली पुर्याइएको छ । उत्तरगया गाउँपालिका–१, गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर–१, २, ३ बाहेक जिल्लाका बाँकी सबै क्षेत्रमा विद्युत् सेवा सुचारु गरिएको प्रवक्ता शाक्यले बताए ।
राष्ट्रिय विद्युत् वितरण नपुगेको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणालीबाट विद्युत् सेवा क्रमशः सुचारु भइरहेको उनले जानकारी दिए ।
