
कोपन्हेगन, डेनमार्क । लेखक प्रकाश सापकोटाद्वारा लिखित नवीनतम उपन्यास ‘विरक्त बाटो’ डेनमार्कमा विमोचन गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टरको आयोजनामा शनिबार कोपन्हेगनमा आयोजित साहित्यिक कार्यक्रमका बिच साहित्यकार केशव नेपालले सो उपन्यास विमोचन गरे ।
प्रमुख अतिथि नेपालले विरक्त बाटो सामाजिक यथार्थवादी उपन्यास भएको बताउँदै पात्रहरूका समस्या र संघर्षलाई उपन्यासकारले कौतुहलमय तरिकाले आकर्षक कथानक बुनेका उल्लेख गर्नुभयो । हरेक पात्रका उपस्थिति र मूख्य भूमिकाको टिप्पणी गर्दै लेखकले अँध्यारोबाट उज्यालो तिरको बाटो पनि देखाउनुपर्ने चर्चा गरे ।
डेनमार्क निवासी लेखक कृष्ण पौडेलले उपन्यासकार सापकोटाको कलात्मक लेखन शैलीबाट आफू प्रभावित भएको र प्रवासको व्यस्तताका वावजुद उपन्यास जस्तो गहन र गहकिलो किताब लिएर आउने जटिल काम गरेकोमा प्रशंसा गरे । उपन्यासको कथावस्तुले कुनै समय आफू बसेको स्विडेनको परिवेश पनि जोडेकोले त्यहाँको भूगोल र वातावरणीय परिदृश्यलाई यथार्थपरक बनाउन लेख्दालेख्दै सापकोटालाई आफूले सल्लाह र सुझाव दिएको स्मरण गरे ।
प्रकाशक शिखा बुक्सको समेत प्रतिनिधित्व गरेका साहित्यानुरागी नविनराज पौडेलले उपन्यासको कथावस्तुले पाठकलाई बाँधेर राख्ने, उत्सुकता जगाइरहने र प्रतिकात्मक भएर पनि सरल भाषाशैलीको प्रयोगले उत्कृष्ट उपन्यास भएको चर्चा गर्दै अत्यन्तै प्रभावशाली उपन्यास लेखेका सापकोटालाई लेखनको निरन्तरताका लागि शुभकामना दिए ।
अनेसास केन्द्रकी भूतपूर्व उपाध्यक्ष सिता बरालले उपन्यास हात पर्नासाथ कलात्मक आवरण नै एउटा अर्थपूर्ण कथा बताउने खालको भएको बताउँदै उपन्यास झन कति अर्थपूर्ण होला भन्ने जिज्ञासा जागेको र पढ्न आतुर भएको बताइन।
उपन्यासकार सापकोटाले आफ्नो साहित्यिक लेखकीय पृष्ठभूमि व्याख्या गर्दै उपन्यास लेखनदेखि प्रकाशनसम्म आफूलाई सहयोग, सुझाव, हौसला र साथ दिने सम्बन्धित सम्पूर्ण व्यक्ति र संस्थाहरूलाई धन्यवाद दिए ।
उपन्यासबारे बोल्दा आफ्नै वरिपरि घटेको घटना जस्तो महसुस भएर भावनामा चुर्लुम्मै डुबेको कुरा अभिव्यक्त गर्दागर्दै उपन्यास पढिसकेका घनश्याम गौतम आँखाभरि आँसु पार्दै भक्कानिए। यस्तै।
, कौशिला सापकोटाले एक रातमा आधा पढेर बन्द गरेको उपन्यासको कथानकले खुल्दुली बढाएर भोलिपल्ट कामको बिच बिचमा निस्केको फुर्सदमा पढेर सिध्याएको र कथाले निकै मन छोएको बताइन ।
कार्यक्रममा उपस्थित साहित्यानुरागीहरू कल्याण काफ्ले, कृष्ण सागर, प्रभात किरण, शैलु अधिकारी लगायतले पढेकाहरूको समिक्षाले उपन्यासप्रतिको उत्सुकता झन बढाएकोले अविलम्ब पढेर प्रतिक्रिया दिने प्रतिबद्धता जनाए ।
कार्यक्रमका सभापति अनेसास डेनमार्क च्याप्टरका अध्यक्ष पूर्ण वस्नेतले उपन्यासका केहि घटनाहरूले मुटु नै गह्रुङ्गो हुने गरी ढक्क फुलाउने बताए ।
कार्यक्रमका सहजकर्ता अनेसास डेनमार्क च्याप्टरका सदस्य दीपककुमार तिवारीले उपन्यास रहस्यमय तरिकाले टुङ्गिएकोले यसको अर्को भाग पनि आउने हो कि भन्ने जिज्ञासा राखे
।
शिखा बुक्सले प्रकाशित गरेको ‘विरक्त बाटो’ डेनमार्क निवासी लेखक प्रकाश सापकोटाको प्रकाशित छैठौँ कृति र दोश्रो उपन्यास हो ।
