
मुक्तक
नानीबाबा अधिकारी
१.
आफूले आफैलाई किन हिरा हुँ भन्छौ
मुटुमा बग्ने धमनी र सिरा हुँ भन्छौ
छैन गुण कत्ति केही तर पनि किन
श्रीखण्डको नै बहुमुल्य चिरा हुँ भन्छौ।
२.
पटुकी कसी खेतमा धान रोपौली सानीले
हिलाम्मै चोली डोकोमा विउँ बोकौली सानीले
खेतैमा बसी दही च्युरा खाँदै हाँसेर रमाउँदै
ठुुलीले झिक्छिन् असारे भाका छोपौली सानीले।
३.
उसैसँग आज रिसाउँन मन छ
पिडाको पोको बिसाउँन मन छ
कहिले काहीँ मन आत्तिएको बेला
मायामा थोरै रिस मिसाउँन मन छ।
४.
मानौँ म कुनै अपराधी नै थिएँझैँ गर्छौ
बेला बेलामा अग्नि परीक्षा लिएझैँ गर्छौ
माया गरेझैँ नजानिदो पारामा तिमीले
जहाँ छ साँघुरो त्यही घच्च दिएझैँ गर्छौ।
५.
झरिरहँदा पछ्यौरी झर्न देउ न भन्छौ
त्यतैतिर मेरा आँखा पर्न देउ न भन्छौ
जिस्किदै र मस्किदै छड्के कुरा गर्दै
इसाराले तिम्रै नजिक सर्न देउ न भन्छौ।
चन्द्रागिरी नगरपालिका ,नयाँ नैकाप








