
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ यसै साताको अन्त्यमा नयाँ दिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जाने भएका छन् ।
“भारतीय गणतन्त्रका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी चिनफिङ सेप्टेम्बर १२ देखि १३ सम्म नयाँ दिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ,” चिनियाँ विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’मा जारी गरेको पोस्टमा उल्लेख गरेको छ । सन् २०१९ मा चेन्नईनजिकैको मामल्लापुरममा प्रधानमन्त्री मोदीसँग भएको अनौपचारिक शिखर सम्मेलनपछि राष्ट्रपति सीको यो सात वर्षपछिको पहिलो भारत भ्रमण हुनेछ ।
राष्ट्रपति सीको यो भ्रमण कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ । भ्रमणले भारत र चीनबीचको सम्बन्ध स्थिर बनाउने जारी प्रयासका साथै ब्रिक्सभित्रको सहकार्यमा समेत दूरगामी प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ । ब्रिक्स शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग द्विपक्षीय वार्ता गर्ने अपेक्षा गरिएको छ ।


