
काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको महाविनाशकारी बाढीबाट जीवन गुमाउनेहरुप्रति साहित्यिक संस्था समन्वय समितिको संयोजनमा सामुहिक श्रद्धाञ्जलीसभा सम्पन्न भयो ।
पशुपतिनजिक गुह्यश्वरी मन्दिर अगाडि,बागमती नदी किनारमा विभिन्न साहित्यिक संघसंस्था र स्रष्टाहरुद्धारा सामुहिक रुपमा दीपप्रज्वलन गरि उनीहरुप्रति १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण समेत गरियो ।

अत्यन्तै संक्षिप्त शोकसभामा समन्वय समितिका संयोजक तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र वरिष्ठ कलाकार मदनदास श्रेष्ठले कार्यक्रमको औचित्य सहित शोक मन्तव्य व्यक्त गरे । उनीहरुले संकटको समयमा सबै लेखक,कवि,स्रष्टा एक हुनुपर्नेमा जोड दिए ।
नेपाली भाषा,साहित्य र कलाक्षेत्रमा क्रियाशील करिव एकसय संस्था संलग्न साहित्यिक संस्था समन्वय समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
सहभागीहरुले मैनवत्ती प्रज्वलन गर्दै बाढीमा परी जीवन गुमाउनेहरुको स्मरण गर्दै मृतात्माको शान्तिको कामना गरे । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरे ।
आजसम्म भोटेकोसी नदीमा आएको हिमबाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३५५ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहान ११ बजेसम्मको विवरणानुसार बाढी प्रभावित क्षेत्रबाट चार हजार ९९६ जना सम्पर्कविहीन छन् ।


