
काठमाडौँ। नेपाली शिक्षा परिषद्ले संस्थाको ७६औँ वार्षिकोत्सव तथा परिषद्का संस्थापक गोपाल पाँडे असीमको ११४औँ जन्मजयन्तीका अवसरमा दुई पुरस्कार प्रदान गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रशासक उमेशप्रसाद मैनालीले ‘गोपाल पाँडे असीम पुरस्कार’ साहित्यिक संस्था ‘राप्ती साहित्य परिषद्’, दाङलाई प्रदान गरे । पुरस्कारका साथ नगद राशि ५० हजारसमेत प्रदान गरियो ।
कार्यक्रममा ‘लेबाल त्रिरत्न पुरस्कार’ संस्कृतिविद् डा. जगदीशचन्द्र रेग्मीलाई प्रदान गरियो । उक्त पुरस्कारकासाथ नगद राशि ७५ हजार रुपैयाँ समेत प्रदान गरियो ।
सोही अवसरमा भानु माध्यमिक विद्यालयबाट २०८२ सालको एसईई परीक्षामा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी रियाकुमारी गुप्तालाई नगद राशि सात हजार पाँच सय रुपैयाँ सहित ‘गोपाल पाँडे असीम उत्कृष्ट नेपाली पुरस्कार’ प्रदान गरियो ।
कार्यक्रममा परिषद्की अध्यक्ष रमा शर्मालाई परिषद्का कार्यसमिति सदस्यहरूले अभिनन्दन गरे । शर्मा ८४ वर्ष पुगेकोमा उक्त अभिनन्दन गरिएको हो ।
प्रमुख अतिथि मैनालीज्यूले बितेको ७५ वर्षदेखि सक्रिय संस्थाले अमृत महोत्सव मनाउनुका साथै राष्ट्रभाषा अमृत महोत्सव विशेषांक प्रकाशित गरेकोमा हर्ष व्यक्त गरे । उनले पुरस्कृतहरूलाई बधाई दिए ।
