
पोखरा । पोखराको साहित्य, कला, सङ्गीत, संस्कृति तथा पर्यटकीय गतिविधिलाई एउटै स्थानबाट संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले निर्माण गरेको बहुउद्देश्यीय ‘पोखरा घर’ सञ्चालनमा आएको छ ।
पोखरा–९ पृथ्वीचोकमा निर्माण गरिएको ‘पोखरा घर’मा भूमिगत पार्किङ, कोसेली घर, एकीकृत सूचना केन्द्र, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा प्रज्ञा प्रतिष्ठान, कला प्रदर्शनी कक्ष, टिकट कक्ष, स्नान गृह, शौचालय र घण्टाघरलगायतका संरचना तथा सेवा राखिएका छन् ।
उद्घाटनका क्रममा नगर प्रमुख आचार्यले पोखरा सार्वजनिक पुस्तकालयलाई विभिन्न विधा तथा विषयका १४५ थान पुस्तक हस्तान्तरण गरेका थिए । लामो समयदेखि अस्थायी संरचनाबाट सञ्चालन हुँदै आएको पुस्तकालयले अब ‘पोखरा घर’बाट सेवा सुरु गरेको छ । पुस्तकालय सञ्चालनका लागि महानगरपालिकाले भवनसँगै फर्निचर तथा आवश्यक सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ ।
कला, साहित्य, संस्कृति र ज्ञानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको ‘पोखरा घर’मा पुस्तकालयसँगै कला प्रदर्शनी कक्ष, पोखरा प्रज्ञा प्रतिष्ठान, एकीकृत सूचना केन्द्र र कोसेली घरलगायतका संरचना सञ्चालनमा आएका छन् । महानगरपालिकाले ‘पोखरा घर’लाई व्यवस्थित सहरको परिचायकका रूपमा विकास गर्दै प्राज्ञिक तथा सिर्जनात्मक गतिविधिलाई थप प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।
नगर प्रमुख आचार्यले व्यवस्थित सहरका लागि आवश्यक पुस्तकालय, कला प्रदर्शनी कक्ष, सूचना केन्द्र, स्नान गृहलगायतका आधारभूत पूर्वाधारलाई ‘पोखरा घर’मार्फत एकीकृत गरिएको बताए । पोखराको कला, साहित्य, सिर्जना तथा संस्कृतिको विकास, संरक्षण र प्रवर्द्धनमा ‘पोखरा घर’ले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
व्यवस्थित सहर निर्माणसँगै ज्ञान, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस्ता संरचनाको विकास गरिएको आचार्यले बताए । ‘पोखरा घर’लाई प्रभावकारी रूपमा सञ्चालन गर्दै यसको संरक्षण र प्रवर्द्धनमार्फत पोखराको सांस्कृतिक तथा प्राज्ञिक पहिचानलाई थप सुदृढ बनाउन महानगरपालिका प्रतिबद्ध रहेको उनले जानकारी दिए ।
कार्यक्रममा महानगरका जन्प्रतिनिधियो, कर्मचारी, विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, जग्गादाता तथा अन्य सरोकारवालाको पनि सहभागिता रहेको थियो ।



