
काठमाडौँ ।नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार गरिँदै आएको मासिक कथावाचन कार्यक्रमको तेत्तीसौं श्रृङ्खला मिति २०८३ साउन २९ गते सम्पन्न भएको छ ।
कार्यक्रमको शुरुमा अभियानका परिकल्पनाकार कथाकार/नियात्राकार चन्द्रप्रसाद भट्टराईलेनेपाली कथाको विकासक्रम र इतिहासबारे गहन अध्ययन–अनुसन्धान गर्ने बृहत उद्देश्य लिई शुरु गरिएको यस अभियानले पुराना नेपाली कथा र कथाकारहरूका रचनाबारे खोज गरिरहेको जानकारी गराए । उनले कथामा शर्मा र अधिकारीको योगदानको चर्चा समेत गरे ।
दिवंगत स्रष्टा श्यामदास वैष्णवको कथा ‘बौलाहा’ ऐतिहासिक साहित्यिक पत्रिका शारदा मासिकको वर्ष १६ सङ्ख्या ९(२००७)को अङ्कबाट डा.समिना खनाल पृथाले वाचन गरिन् ।
कथाकार डा.बेन्जु शर्माले ‘यहाँ किन आएको ?’ शीर्षकको आफ्नो कथा वाचन गरिन ।
अर्का कथाकार हरि अधिकारीले ‘दुःस्वप्न’ शीर्षकको कथा आफ्नो कथासङ्ग्रह ‘प्रतिनायक’ को तेस्रो संस्करण(२०८०)बाट वाचन गर्नुभएको थियो । सो कथा २०३० को दशकमा ‘प्रेमको एउटा कथा’ शीर्षक लिई मधुपर्कमा प्रकाशित भएपछि उनकै कथासङ्ग्रह ‘रामलालको आकाश’ (२०४०)मा पनि सोही शीर्षकमा सङ्गृहीत थियो ।
कथावाचनपछि श्रोतागणबाट दुवै कथाकारहरुसँग कथाका पृष्ठभूमि, परिवेश, भाषा आदिमा जिज्ञासा राख्ने र जवाफ दिने चरण सम्पन्न भएको थियो ।
कार्यक्रममा समापन मन्तव्य अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले तीन वर्षको अवधिमा नेपाली कथा साहित्यमा पुनर्जागरण अभियानले कथाकारहरु, कथासमीक्षकहरु र कथाका गम्भीर पाठकहरुको ठूलो विश्वास आर्जन गरेकोमा खुशी व्यक्त गरे ।
२०८३ सालको असार र साउनमा दिवंगत हुनुभएका कथाकारहरु डा. राजेन्द्र विमल, नगेन्द्रराज शर्मा र गीता केशरीका आत्माको चिरशान्तिको कामना गर्दै कार्यक्रममा एक मिनेट मौन धारण गरिएको थियो ।
उपन्यासकार शुकदेव उपाध्यायले कार्यक्रम सञ्चालन गरे ।
वि.सं. २०७९ को अन्त्यसम्ममा पत्रपत्रिका वा पुस्तकमा प्रकाशित भएका आफ्ना कथा वाचन गर्न इच्छुक स्रष्टाहरूले अग्रिममैसम्पर्क राखी नाम दर्ता गराउनुपर्ने आयोजकले बताए । ।
