
काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ । उमेरजन्य विभिन्न रोगबाट पीडित कवि श्रेष्ठको गएराति आइतबार बुढानीलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा निधन भएको थियो । परिवारका केही सदस्यहरु नेपाल बाहिर रहेकाले उनीहरु आइपुगेपछि मंगलबार विहान ९ बजे शव यात्रासहित शोभा भगवती घाटमा अन्तिम संस्कार गरिने परिवार सदस्यले जानकारी दिए । साहित्यकार श्रेष्ठ नेपाल भाषा, जातीय पहिचान र समान अधिकारका लागि संघर्षरत रहेका थिए ।
नेपाल भाषा परिषद बाट दुई दशक अगाडि जनकविको उपाधिबाट सम्मानित श्रेष्ठ पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका थिए । शिक्षण पेसामा समेत रहेका दुर्गालाल श्रेष्ठ कवि र गीतकार मात्र नभएर एक कुशल नाट्य लेखकसमेत भएको र “उहाँ आफैँ नाटक निर्देशन गर्नुहुन्थ्यो र अभिनय पनि गर्नुहुन्थ्यो ।”
श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता, गीतसहित अन्य विधामा पनि कलम चलाएका छन् । नेपाल भाषामा उनका एक दर्जनभन्दा धेरै अलावा नेपाली र अंग्रेजीमा गरेर ८० भन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् । उनलाई २०१० मा जगदम्बा श्री पुरस्कार प्रदान गरिएको थियो ।श्रेष्ठका ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल’, ‘फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार’लगायत गीत चर्चित छन् ।




