
काठमाडौँ। सरकारसँगको वार्तापछि वैदेशिक रोजगार व्यवसायीले घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले सोमबार (भदौ १ गते) विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
“नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गरेका यससँग सम्बन्धित सम्पूर्ण दबाबमूलक कार्यक्रमहरूसमेत आजैका मितिबाट अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” श्रम मन्त्रालयले भनेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउन २२ गतेदेखि वैदेशिक रोजगार क्षेत्रका विषयलाई लिएर विभिन्न १५ बुँदे माग राखी आन्दोलन सुरु गरेका थिए । वैदेशिक रोजगार व्यवसायी संघले सरकारले आफ्ना माग सम्बोधन नगरे वैदेशिक रोजगारी पठाउने कार्य भदौ १ गतेदेखि बन्द गर्ने घोषणा गरेका थिए ।
यसैबीच सोमबार (भदौ १ गते) श्रम मन्त्रालयले वैदेशिक रोजगार व्यवसायीलाई वार्तामा बोलाएको थियो । मन्त्रालयमा सोमबार भएको वार्तामा श्रममन्त्री रामजी यादव, श्रम सचिव दिपक काफ्ले र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष, सल्लाहाकार सहितका पदाधिकारी सहभागी थिए ।
वार्तामा सरकारी पक्षले संघले राखेका १५ बुँदे मागहरू अधिकांश नीतिगत सम्बोधनका विषयहरू रहेकोले उक्त मागहरू वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेको जनाएका थिए ।
यस सन्दर्भमा यथाशक्य छिटो वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउने गरी उक्त संशोधन प्रक्रिया टुंग्याउन मन्त्रालय तथा संघले समेत अधिकतम प्रयत्न गर्ने सहमति वार्तामा भएको मन्त्रालयले जनाएको छ ।
“समग्र मागको सन्दर्भमा कानुनबमोजिम व्यवसायीहरूले थप प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा आफ्ना विषयवस्तुहरू राखी अनुरोध गरेमा विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्ने तथा सोबाट समाधान नभएमा रितपुर्वक मन्त्रालयमा पुनरावेदन दिन सक्ने प्रावधान रहेको हुँदा सोही बमोजिम गर्ने गरी छलफल कार्यक्रम सम्पन्न भएको छ,” श्रम मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

