
हाम्रो भविष्य
भैरव ढकाल
हाम्रा अगुवा नै खराब भएपछि
हाम्रो पनि चेतना हुँदै नभएपछि
हामी सबैको भविष्य जल्दै छ
फेरि हुकुमी शासन चल्दै छ ।
युद्धको घोषणा त सुनेको छैन
तर षड्यन्त्र नभएको भने होइन
मनभरि बम, गोला बर्संदै छ
मान्छेसँग मान्छे नै तर्सँदै छ ।
अघोषित युद्ध हुन पनि सक्छ
सबैको अन्त्यै हुन पनि सक्छ
मानव मूल्य नै शून्य हुनसक्छ
मानवता नै रोएको हुनसक्छ ।
हरेक मान्छेको पालो आउँदै छ
साइरन बजी बजी तर्साउँदै छ
दानवजतिको अन्त्य भएहुन्थ्यो
तर, मानवता पो डराएको देखिँदै छ ।








