
लघुकथा
लक्ष्मी श्रेष्ठ
कालीको मुस्कान
‘ओइ!काली के छ खबर? म बिहे गरेर छब्बिस बर्ष अगाडि आउँदा नि उस्तै अहिले देख्दा नि उस्तै! कहिल्यै बुढी हुने हैन् । मेरो आधा कपाल सेतो भैसक्यो । तिम्रो त अझै उस्तै कालो देख्छु त ?’
मेरो स्वर सुनेर तरकारीवाली काली उसैगरी मुसुक्क हाँसी र तरकारी मिलाउदै मतिर हेर्दै जवाफ दिई-‘न न हमरा कपाल भि फुलल्बा एगो दुगो पहिला जैसन कहँ बा!’
‘के तेल लगाउने गरेको?’ चिप्पिक्क परेर कोरेको कपालमै सिन्दुर लगाएको टाउको हेर्दै फेरी जिज्ञासा राखें ।
‘नरिवल के तेल लगाइछी और कहाँ कुछु नलागाइछी।’
कोभिड महामारीपछि करिब ३ बर्ष पछिको भेट थियो मेरो र उनको। म बिहे गरेर तराई झर्दा तीनवटा छोराहरु जन्माएकी।राम लक्ष्मण,भरत । मेरै अगाडि शत्रुघन र छोरी जन्माई । ५ जना सन्तान जन्माएर उबेला नि उसैगरी तरकारी बेच्ने हिस्सी परेकी काली अहिले नि सोमबारे र शुक्रबारे हाटमा तरकारी नै बेच्दैछे।
उसले तरकारी किनेर जोख्दै आफ्नो पीर सुनाउन भ्याइ। भरत बितेछन्। जेठो राम जसलाई मैले बिद्यालयमा पढाएको थिँए,उ अहिले हेडमास्टर भएछ। अरु दुईजना इन्डियामा कमाउँछन् रे, छोरी अलिक लठेब्री छे। अनि बुढाबुढीको उही दश बर्षदेखिको तरकारी व्यापार। उनको जेठो छोरोसङ्ग बेस्सरी गुनासो रहेछ, मलाई सबिस्तार सुनाई- ‘कति दुख गरेर तपाईको बोर्डिङमा पढाएको । अहिले बोल्दैन् हामीसँग।घर बनाएँ ।उ माथि बस्छ हामी तलको तलामा तर परेको बेला केही सहयोग गर्दैन्। बडो दुख लाग्छ म्याडम।’
मुस्कान र पीडा मिश्रित अनुहारमा झल्काउँदै पोखेर आफ्नो पीरब्यथा एकै सासमा । मैले नि सान्त्वना दिए।
‘अरु छोराहरुले पठाउँछन् इन्डियाबाट । अलिक मलाई सहयोग मिल्छ म्याडम ।’
कालीको ओठमा फेरि उही मुस्कानले राज गर्यो,जुन मैले छब्बिस वर्ष अगाडि पहिलो पटक देखेको थिए। उही शालीनता,उही भद्रता, उही मेहनत, उस्तै खुशीमा रमाउन सिकेका। कालीको मुस्कानमा म नि मुस्कुराएँ धेरै समयपछि। जस्तो दुख परे पनि,अप्ठ्यारो समय झेलेपनि,आफुले जन्माएर हुर्काएर,तरकारी बेचेरै पढाएका छोराले नहेरेपनि,सन्तान गुमाएको पीडा सहेर पनि ! काली कति मुस्कुराउँन सकेकी ! खुशी भएर आफ्नो कर्ममा तल्लिन छे ।
मानौ यो संसारको सबै खुशी उसैको पोल्टामा छ र सबैलाई सित्तैमा बाँडिरहन्छे। मान्छेको अन्तिम लक्ष्य नै खुशी हो भन्छन दार्शनिक र जानिफकारहरु । आज कालीको मुहारमा मैले त्यही खुशीको अनुभव गरें ।जुन धेरै धनी,शिक्षित मै हुँ भन्नेहरुको अनुहारमा बिरलै देखिन्छ।
चन्द्रपुर,रौतहट







