
काठमाडौँ । कवि रिता खत्रीको तेस्रो कविताकृति ‘बाँच्नेहरूको नाममा’को एक कार्यक्रमबिच गृह विमोचन गरिएको छ ।
यसअघि यो कविताकृति भानु जयन्तीका अवसरमा थाइल्यान्डको ब्याङ्ककमा लोकार्पण गरिएको थियो ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा कवि शेखर गिरि, डा. अशोक थापा, जलेश्वरी श्रेष्ठ, भागीरथी श्रेष्ठ लगायतले कृति सार्वजनिक गरे ।
कार्यक्रममा कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै डा। थापाले एक जुझारु कविले सुन्दर कविताकृति पाठक माझ ल्याएको बताए । उनले कृतिको चर्चा गर्दै कृतिमा प्रस्तुत कविता सरल भए पनि कवितामा विद्रोह र सौन्दर्य कला दुवै रहेको बताए ।
डा। थापाले रिताका कवितामा समाज, परिवार, संस्कृति, प्रेम, करुणा र आशा सबै भएको उल्लेख गरे । उनले कविले विम्बलाई जितेर काव्यात्मक रङ्गमा चोपलेर अर्को विम्ब निर्माण गरेको बताए ।
अर्का समीक्षक साहित्यकार प्रगति राईले स्वभावमा हक्की कवि रिताका कविता भावुक र यथार्थवादी भएको बताइन् । उनले कवि रिता एक विम्बकवि भएको पनि उल्लेख गरिन् ।
साहित्यकार जलेश्वरी श्रेष्ठले रिताका कविता जोशिलो भएको बताउँदै उनका कवितामा नारी पीडा र वेदना प्रस्तुत भएको चर्चा गरिन् ।
साझा प्रकाशन, विद्युतकर्मी साहित्यिक समाज र विशव नेपाली वाङ्मय प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा कवि तथा साझा प्रकाशनका अध्यक्ष गिरि, अग्रज कवि शैलेन्द्र साकार, मिना श्रेष्ठ, कवि खत्री र शारदा पराजुलीलगायतले आफ्ना धारणा राखे ।
कार्यक्रममा कविहरू बाबु त्रिपाठी, प्रोल्लास सिन्धुलीय, जयन्ता पोखरेल, कृष्णदेव रिमाल, पेशलकुमार लुइँटेल, उषा केसीलगायतले कविताकृति भित्रबाट कविता वाचन गरे ।


