
काठमाडौँ। भारतको ओडिशाको पारादीप तटबाट करिब २४० समुद्री माइल टाढा बंगालको खाडीमा शनिबार ‘एमभी ओसन विनर’ नामक मालवाहक जहाज डुबेको छ ।
पनामाको झण्डा अंकित उक्त जहाजमा २४ जना चालक दलका सदस्य सवार थिए ।
भारतीय अधिकारीहरूका अनुसार चालक दलमा २० जना चिनियाँ, तीनजना म्यान्मारका र एकजना बंगलादेशी नागरिक थिए । हालसम्म दुईजनालाई उद्धार गरिएको छ भने बाँकी २२ जनाको खोजी तथा उद्धार कार्य जारी छ ।
उक्त जहाज ओडिशाको पारादीप बन्दरगाहबाट फलाम लिएर सिंगापुरतर्फ जाँदै थियो । जहाज अगस्ट २० को राति पारादीपबाट प्रस्थान गरेको थियो । जहाजसँग सम्पर्क विच्छेद भएपछि उद्धारका लागि सूचना प्राप्त भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै भारतीय तटरक्षक बल र भारतीय नौसेनाले संयुक्त रूपमा खोजी तथा उद्धार अभियान सुरु गरेका छन् । नजिकै रहेका अन्य जलपोतलाई समेत घटनाबारे जानकारी गराई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।
उद्धार टोलीले लाइफर्याफ्टमा रहेका दुईजनालाई उद्धार गरिसकेको छ । जहाज डुब्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

