
इटहरी । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले पत्रकारितामाथिको आक्रमण लोकतन्त्रका लागि गम्भीर चुनौती भएको बताएका छन् ।
शनिबार इटहरीमा नेपाल प्रेस युनियन सुनसरीको १० औं अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले लोकप्रियतावादबाट तानाशाहको जन्म हुनसक्ने भन्दै पछिल्लो राजनीतिक अवस्थाप्रति संवेदनशील बन्नुपर्ने बताएका हुन् ।उनले लोकतन्त्र प्राप्तिका लागि जीवन समर्पण गरेका पुस्ताको योगदानलाई बेवास्ता गर्दा मुलुक गलत दिशातर्फ जानसक्ने बताए ।
मुलुक अन्तर्राष्ट्रिय शक्तिहरूको ‘क्रीडास्थल’ बन्ने खतरा बढेको भन्दै उनले राष्ट्र, राष्ट्रियता र त्यससँग जोडिएका भावनाप्रति संवेदनशील हुनुपर्ने धारणा राखे ।अघिल्लो समयको दुईतिहाइको राजनीतिक शक्तिले गरेको व्यवहारकै कारण अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ थियो ।
उनले अहिले प्राप्त भएको दुईतिहाइलाई पनि विगतको जस्तै सामान्य रूपमा नलिई गम्भीर र जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताए । आङ्देम्बेले सञ्चारमाध्यमले पाउने विज्ञापनमा भइरहेको कटौतीप्रति समेत दुःख व्यक्त गरे । उनले प्रेस स्वतन्त्रता कमजोर पार्ने कुनै पनि गतिविधिले लोकतन्त्रलाई नै संकटमा पार्ने बताए ।
प्रेस काउन्सिल विधेयक तथा प्रेससँग सम्बन्धित कानुन निर्माण गर्दा सरोकारवालासँग पर्याप्त संवाद गर्नुपर्नेमा उनले जोड दिए । उनले सञ्चार क्षेत्रसँग सम्बन्धित कानुन निर्माणमा पत्रकार, सञ्चारमाध्यम र अन्य सरोकारवालाको सहभागिता सुनिश्चित गर्न आग्रह गरे ।


