
काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ प्राध्यापक दिनेशराज पन्तले समालोचक दीपकप्रसाद गौतमद्वारा तयार गरिएको अनुसन्धानात्मक कृति ‘सिर्जनविधाका परिधिमा तीर्थराज अधिकारी’ को लोकार्पण गरे ।
सो अवसरमा प्रमुख अतिथि पन्तले कृतिकार गौतमको प्रशंसा गर्दै कृतिनायक तीर्थराज अधिकारीको सिर्जना र साहित्यिक योगदानका बारेमा चर्चा गरे ।
भुवानीशङ्कर बहुमुखी क्याम्पस, चितवनमा प्राध्यापनरत कृतिकार दीपकप्रसाद गौतमले यसअघि अधिकारीका मुक्तकसङ्ग्रहमा केन्द्रित रहेर अनुसन्धान गरेको र त्यसपछि उहाँका समग्र कृतिको अध्ययन-विश्लेषण गर्न उत्प्रेरित भएको बताए ।
समालोचक तथा साहित्यकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमले कृतिकार दीपकप्रसाद गौतम र कृतिनायक तीर्थराज अधिकारीका व्यक्तित्व, सिर्जना र समालोचनामाथि प्रकाश पार्दै आफ्नै निर्देशन र सल्लाहमा कृति तयार भएको जानकारी गराए ।
कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका संस्थापक तथा सल्लाहकार ठाकुर शर्मा भण्डारीले कवितामै स्वागत मन्तव्य व्यक्त गरे । लोकार्पित कृतिका बारेमा समालोचक तथा साहित्यकार प्रा.डा.भागवत ढकालले समीक्षा गरे ।
सो अवसरमा नेपाल स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ , नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष साहित्यकार रामकाजी कोने, समालोचक डा.कृष्ण भण्डारी मुमुक्षु, अनुवादक भोजराज न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिकार गौतम र कृतिनायक तीर्थराज अधिकारीको योगदानको चर्चा गरे ।
कार्यक्रममा साहित्यकार तीर्थराज अधिकारीले लोकार्पित कृति आफ्ना लागि अमूल्य र महत्त्वपूर्ण भएको उल्लेख गर्दै साहित्यमा लागेर आफूले सन्तुष्टी प्राप्त गरेको बताए ।
कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष साहित्यकार रामप्रसाद पन्तले कृतिकार गौतम र र साहित्यकार तीर्थराज अधिकारीको व्यक्तित्वबारे चर्चा गरे । प्रतिष्ठानद्वारा प्रकाशित कृतिका कृतिकार दीपकप्रसाद गौतमलाई कार्यक्रममा सम्मान गरिएको थियो । प्रतिष्ठानका महासचिव तथा साहित्यकार यादव भट्टराईद्वारा सहजीकरण गरिएको थियो ।

