
कविता
जादुमयी कागज
सुमित्रा बजगाँई
ऐ ! जादुगर
यो भावनाको धरालाई
सर्कसको म्याजिक शो बनाएर
कसरी खोलिदिइस
महादेवका त्रिनेत्र ?
कस्तो तन्त्रमन्त्रले
ओकल्दैछस्
सत्य निलेर झुट ?
तेरा जादुले कति छिटै
दिन रात भए,
रात दिन !
मान्छे पशु भए ,
पशु मान्छे !
यो युगले अब कसरी चिन्ला-
साधु कुन, चोर कुन !
विद्धान् कुन ,मूर्ख कुन !
तैँले त रातारात
बदलिदिइस मान्छेका रङ्गहरु
खल्बलाइदिइस्
ब्यवस्थाका जगहरू !
जहाँ तेरा चुली अग्लिन्छन्
त्यहाँ मानवताको उचाइ होचिन्छन्
आफ्नु दम्भलाई बहादुरी ठानेर
खुब नचाएकोछस् जादुको छडी !
तर म तँलाई
जादुगर मान्दै मान्दिनँ ।
तेरो शक्तिमा
रात छ -निद्रा छैन्
भोजन छ- भोक छैन् ।
यदि,
तँ साच्चै जादुगर होस् भने-
तेरो जादुमयी ऐनामा
मान्छेका चित्र होइन
चरित्र देखा !
मृत्यू बेचेर
जीवन किनेर देखा !
जादु नै चलाउँनु छ भने
यो इन्द्रको वज्र
भुँइमान्छेका आँगनमा
बज्राएर देखा ।




