
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य गर्दैआएको छ ।यही बमोजिम मौजुद मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि आगामी असोज १ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन हुँदैछ ।
उक्त मतदाता नामावलीमा रहेका विवरण यथार्थ र अद्यावधिक वनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने भएकाले मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगले अनुरोध गरेको हो ।
मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायतका विवरणमा भएको त्रुटि सच्याउनुपर्ने भएमा, कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सच्याउन सकिनेछ ।
कुनै मतदाताको नाम एकभन्दा वढी स्थानमा समावेश रहेको भए एक स्थानमा मात्र कायम गर्न, बसाइँसराइ गरी वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएको भएमा पनि त्यसअनुसारको विवरण अद्यावधिक गर्न भनिएको छ ।

