
कविता
चन्द्रमा र म
राजीव श्रेष्ठ
पुर्णिमाको पूर्ण चन्द्रमा हेरेर
म विमुग्ध भएँ
यो त्यहीं चन्द्रमा हो
जसलाई बाल्यकालमा देखेर
म बाल सुलभ कलपनामा दुब्थेँ
कि पहाडको टुप्पोबाट सिढीं चढेरै
कुनै दिन
चन्द्रमाको घर पुग्छु
अनि उनीसँग साउती गर्नेछु ।
जब हामीलाई टाढा बस्ने कुनै व्यक्तिको याद आउँछ,
तब चन्द्रमाको बारेमा सोच्यौ भने
हामीलाई आभाष हुन्छ कि
हामी टाढिएका रहेनछौ
किनकि,रातको समयमा
हामी दुवै एउटै चन्द्रमालाई हेरिराखेका हुन्छौ।
आफै अनिश्चित हुँदा पनि
मसक्क मस्कि
बसेको त्यो जूनलाई हेर्दा
बाल्यकालको सम्झना आउँछ
कि यिनै जूनलाई आफ्नो
व्यथा पोखेर हामी हलुका हुन्थ्यौ

जिन्दगीको उतार चढावबाट
थकित हुँदा
चन्द्रमाको अनवरत यात्राको
झझल्को आउँछ
सम्पुर्ण विश्वको सुख दुःखको
साक्षी बनेर अभिभावकत्व गर्ने
यो निश्चल जून कहिल्यै थाक्दैन ।
चारैतिरबाट निरासिएको बेलामा
म यिनै पूर्ण चाँदलाई खुसुक्क गुनासो गर्छु,
अनि , मेरो त्यो बाल्यकालदेखि साँचेको
सपनाझैं
उही परिचित चन्द्रमा मलाई
सुटुक्क सल्लाह दिन्छ्न –
“बादलले मलाई पनि घेरा हाल्छन
तापनि मेरो सबै किरण हराएको हुन्न !!”

