
पोखरा । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको शुक्रबार निरीक्षण तथा अनुगमन गरेका छन्।
उनले दुवै अदालतको निरीक्षणसँगै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका हुन्।
प्रधानन्यायाधीश डा शर्माले गत वर्षको ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीमा परी क्षतिग्रस्त बनेका अदालत भवनको अवलोकनसमेत गरेको सर्वोच्च अदालतका उप–रजिष्ट्रार राजेन्द्र पौडेलले बताए। उनले भने, ‘शनिबार उच्च अदालत पोखरा बागलुङ इजलास, जिल्ला अदालत बागलुङ र जिल्ला अदालत म्याग्दीको पनि निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ।’
प्रधानन्यायधीश शर्मा आइतबार तनहुँ पुगी ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला अदालत भवनको अवलोकन गर्ने छन्। ‘जेनजी’ आन्दोलनका बेला उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा आगजनी गरी क्षति पुर्याइएको थियो।
अदालत भवन जलेपछि ती अस्पतालको न्याय सम्पादनसहित समग्र सेवा प्रवाहमा कठिनाई उत्पन्न भइरहेका बेला प्रधानन्यायाशीध शर्माले भवन पुर्ननिर्माणको कामलाई अगाडि बढाउन पहल लिएको उप–रजिष्ट्रार पौडेलले बताए।
प्रधानन्यायाशीश शर्माले नेपाल बार एशोसिएशन, पोखरा महानगरपालिकाका प्रतिनिधिसहित सरोकार भएका पक्षहरूसँग कास्की जिल्ला अदालत भवन निर्माणका लागि जग्गा व्यवस्थापनलगायतका विषयमा छलफल गरेका थिए।



