
काठमाडौँ । भारतमा पछिल्लो दुई महिनामा चिनीको मूल्य करिब ४० प्रतिशतले बढेको छ ।
आन्तरिक बजारमा बढ्दो मूल्य र घट्दो आपूर्ति नियन्त्रण गर्ने उद्देश्यले सरकारले १० लाख मेट्रिक टन कच्चा चिनी भन्सार शुल्कबिनै आयात गर्न अनुमति दिएको छ ।
यो भन्सार शुल्कमुक्त आयात सुविधा आगामी अक्टोबर ३१ सम्म लागु हुनेछ । भारतमा सामान्यतया चिनी आयातमा १०० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था छ ।
नजिकिँदै गरेको चाडपर्वको मौसममा चिनीको माग अझ बढ्ने अनुमानका बीच सरकारले आपूर्ति सहज बनाउन यो कदम चालेको हो ।
समाचार संस्था रोयटर्सका अनुसार, भारतले करिब एक दशकपछि पहिलोपटक ठूलो परिमाणमा चिनी आयात गर्न लागेको हो । यस वर्ष चिनीको उत्पादनमा कमी आएपछि आन्तरिक बजारमा आपूर्तिको दबाब बढेको छ ।

