
काठमाडौँ । एसिया प्रिक्वालिफायरमा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुभकामनासहित बिदाइ गरेका छन् ।
प्रतियोगिता अगस्ट २४ देखि २९ तारिखसम्म संयुक्त अरब इमिरेट्समा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित सहभागिता जनाउँदैछ ।
नेपाली टोलीको कप्तानी सदिश प्रधान र उपकप्तानी विनोद महर्जनले गर्नेछन् । टोलीमा श्रेयसबहादुर शाह, असिम श्रेष्ठ, सौरभ श्रेष्ठ, निश्चल महर्जन, सुदिप पौडेल क्षेत्री, अजय कुश्वाह, कमल थापा, पेम्बा शेर्पा, सिमोन गुरुङ र प्रणयमान श्रेष्ठ रहेका छन् ।
टोलीका प्रमुख प्रशिक्षक सुशिल गुरुङ र सहायक प्रशिक्षक आशिष न्यौपाने छन् । टोली व्यवस्थापक नरेन्द्र थापा रहेका छन् भने फिजियो अभिप्सासिंह कोइराला, चिकित्सक डा. रुपेश केसी र सञ्चार अधिकृत सिद्धार्थ खड्का पनि टोलीसँगै जानेछन् । टोलीका अन्य पदाधिकारीमा भीमसिंह गुरुङ, राजेन श्रेष्ठ र सरोजा कोइराला श्रेष्ठ रहेका छन् ।
