
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू नेतृत्व परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
शनिबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आफूहरू अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्संरचना र पुनर्गठनको प्रक्रियामा रहेको भन्दै अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने पक्षमा नरहेको बताए ।
पार्टी नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टिकाटिप्पणी वा बाहिरी छलफलबाट नहुने उनको भनाइ छ ।
एमालेको महाधिवेशन कहिले हुने भन्ने निर्णय गर्ने पूर्ण अधिकार पार्टीको केन्द्रीय कमिटीसँग मात्र रहेको धारणा पनि उनले राखे ।
‘जनतासँगको सम्बन्ध पुनः जोड्न र कार्यकर्ताको मनोबल बढाउन पार्टीभित्र छलफल भइरहेको तथा यसका लागि कार्यदल गठन गरिएको छ,’ पोखरेलले भने, ‘लोकतन्त्र र संविधानको रक्षाका निम्ति संसद्भित्र तथा बाहिर रहेका संविधान निर्माता दलहरूसँग सहकार्यको प्रयास भइरहेको छ ।’
उनले प्रधानमन्त्रीको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैलीलाई रोकी लोकतन्त्रलाई सही मार्गमा ल्याउन राष्ट्रपतिसँग पनि संवाद गरिने उल्लेख गरे ।

