
काठमाडौं । रोहित पौडेलको शतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भइरहेको ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ ।
नेपालको सुरुआत भने निकै खराब रह्यो। ओपनर आसिफ शेख ४ रन बनाएर आउट भए भने इशान पाण्डेले खाता खोल्न सकेनन्। अर्जुन कुमाल पनि २३ रन बनाएर आउट हुँदा नेपालले १७ ओभरको समाप्तिमा ५६ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो।
सुरुआती ब्याटर सस्तैमा आउट भएपछि दबाबमा परेको नेपाललाईरोहित पौडेल र बसिर अहमदले सम्हाले। यी दुईले चौथो विकेटका लागि ७७ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्सलाई लयमा फर्काए।
बसिर ५७ बलमा ३ चौकासहित ३० रन बनाएर आउट भए। त्यसपछि पनि रोहितले एकतर्फबाट नेपालको इनिङ्स सम्हालिरहे। उनले १२७ बलमा ८ चौका र एक छक्काको मद्दतले १०१ रन बनाए। रोहितको शतक नेपालको इनिङ्सको मुख्य आकर्षण बन्यो। उनी ४८.३ ओभरमा आउट भएका थिए।
रोहितको शतकसँगै नेपालले सम्मानजनक योगफलतर्फ अघि बढ्ने आधार बनाएको थियो। तर मध्यक्रमका अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन्। दीपेन्द्रसिंह ऐरी ६ रन, करण केसी ४ रन र नन्दन यादव २ रनमा आउट भए।
अन्तिमतिर गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै नेपालको रनगति बढाए। उनले ३४ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाए। गुल्सनको ब्याटिङले नेपाललाई अन्तिम पाँच ओभरमा ४४ रन जोड्न मद्दत गर्यो। उनी ४७.५ ओभरमा आउट भए।
सन्दीप लामिछानेले अविजित २ रन बनाए भने ललित राजवंशीले पनि २ रन जोडे। नेपालले अतिरिक्तबाट १३ रन पाएको थियो।
ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो ।
