
काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो पराजय व्यहोरेको छ ।
शनिबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा बंगलादेश हाई प्रफर्मेन्स टिमले नेपाललाई नौ विकेटले निराश बनाएको हो ।
नेपालले प्रस्तुत गरेको १०० रनको लक्ष्य बंगलादेशले १०.२ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो ।
बंगलादेशको जिशन आलमले अविजित ५२ रनको योगदान गरे । उनले २९ बलमा चार छक्का र तीन चौका प्रहार गरे । अरिफुल इस्लाम ३४ रनमा अविजित रहे ।
नेपालका निम्ति एक मात्र विकेट साहब आलमले लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९९ रन बनाएको थियो ।
नेपालका निम्ति कुशल भुर्तेलले सर्वाधिक ४६ रनको योगदान गरे । उनले ४० बलमा तीन चौका र एक छक्का प्रहार गरे । विपीन खत्रीले अविजित ११, साहब आलमले ११ र रिजन ढकालले १० रन बनाए ।
बंगलादेशका एमडी रुबेलले चार तथा रिपोन मण्डल, रोहनत डोउल्लाह ब्रोसन र समिउन बसिरले एक/एक विकेट लिए ।
नेपालले यसअघि आयोजक नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग आठ विकेटको हार व्यहोरेको थियो ।

