
निबन्ध
सोचे झैं जीन्दगी रैनछ !
उद्धव सापकोटा
कहिलेकाहीँ मनमा अनेक कुराहरु खेल्न थाल्छन् । मन धमिलो हुन्छ । सानो सानो कुराले मन किन यस्तो हुन्छ ? के कस्ता कारणहरुले गर्दा मन गहिरो सोचमा डुब्न पुग्छ ? आफैलाई थाहा हुँदैन् । पारिवारिक खुसी पनि सधैं एकनासको नहुँदो रहेछ । लाग्छ परिवारको सारा खुसी नै आफ्नो खुसी हो । आफूले के कस्तो कदम चाल्दा परिवारको लागि भलाई हुन्छ, राम्रो हुन्छ र परिवारिक वातावरण सौहाद्र तरिकाबाट अगाडि बढ्छ त्यो नै प्रत्येक अभिभावको सोचाइ हुन्छ । तर यो सोचाइ सधैं कायम रहन्छ भन्ने पनि छैन । यस्तो राम्रो सोचाइ राखी काम गर्दा कहिलेकाहीँ अपजसको भागिदार पनि हुनुपर्छ । आफूले राम्रो बोल्दा नराम्रो हुन्छ । नबोलौं पनि नहुँने, बोलौ राम्रो पनि नहुँने । असमान्य स्थिति उत्पन्न हुन्छ ।
जन्मदेखि यो उमेरबिचको समयमा कति वसन्तका पालुवा फेरीए । कति हिउँदका चिसा दिनरातहरु बिते । कति वर्षाका खहरेहरु तछाडमछाड गर्जदै आए अनि गए सागरमा मिसिन । त्यसको लेखाजोखा छैन ? समय त आखिर उही छ । बिहान हुन्छ सूर्य उदाउँछ आफ्नै लोकमा । बेलुका हुन्छ अस्ताउँछ आफ्नै लयमा । ऋतुहरु आफ्नै तरिकाले चक्र काटिरहेका छन । हाम्रा कयौं पूर्खाले यहीको माटोमा पसीना बगाए । आफ्नो शरीरलाई यहीको माटोमा बिलिन गराए । त्यसैको निसानी स्वरुप आज हामी यही माटोमा छौं । हाम्रो र माटोको सम्वन्ध छ । हाम्रो पनि बिस्तार बिस्तारै जीवन ढल्दैछ । डाँडामाथिको घाम जस्तै । जव हाम्रो अन्त्यष्टि हुन्छ तबपनि हाम्रो सम्वन्ध माटोसँग नै हुन्छ । संसार त यसरी नै चलिरहन्छ ।
मनभित्र अनेक कुराहरु खेलेपछि एकप्रकारको कौतुहलताले बास गर्दो रहेछ । त्यो कौतुहलताबाट निस्कने भावभङ्गीमा पनि फरकपन आउँदो रहेछ । त्यस समय अनुहारमा आउने बदलावको भावले त्यसको झल्को दिदो रहेछ । जव बिहानदेखि मन एकठाउँमा स्थिर भएर रहदैँन तव दिनभर गरेको कामको मेलोमेसो थाहा नहुँने रहेछ ।
सबैको जीवन सधैं सोचे जस्तो त कहाँ हुन्छ र ? सोचे झै जिन्दगी रैनछ भनेर त्यसै गीत बनाएका हुन र ! हरेक समय र मोडमा शरीरले उत्पन्न गर्ने प्रतिक्रियाहरु तथा मनमा उत्पन्न हुने रिस,राग, कुण्ठा, घमण्ड,आदि तत्वले मनलाई धमिलो बनाउँदो रहेछ । मनभित्र गुम्सिए बस्ने यस्ता बिकारहरुलाई मनबाटै फाल्नु पर्ने रहेछ । यसो गर्न सकिएन भने आफूभित्र रहेको खुसीले डाँडा काट्दो रहेछ । फेरी मनलाई पहिलेकै अवस्था फर्काउन पनि निकै कसरत गर्नुपर्ने हुन्छ ।
यस्तै यस्तै कुराहरु सोच्दै म मेरा हजुरबालाई सम्झन पुग्छु । मैले मेरा हजुरबालाई देख्न पाइन । मेरो जन्म हुनुभन्दा अगाडि नै उहाँको स्वर्गवास भएको थियो । यो मानेमा म आफूलाई
अभागी ठान्छु । हजुरबाका कुराहरु पछि बाले गर्नुहुन्थ्यो । बाका अनुसार घरमा अलिकति तलमाथि हुँदा हजुरबा म पशुपतिमा जान्छु भनेर घुर्की लगाउनु हुन्थ्यो रे । बाले जिस्किएर पशुपतिमा अर्की आमा पनि छन र बा भन्दा बढी कुरा गर्छस जाँठा भनेर गाली गर्थे रे । हजुरआमाको पनि बेलैमा स्वर्गबास भएको हुँदा लामो अवधी राडो भएर बस्नु पर्दा कम्ती पीडा थिएन होला हलाजुरबालाई । त्यतिबेला उहाँको बेदना कस्ले बुझिदिने ?
हरेक श्रीमान र श्रीमती रथका दुई पाङ्ग्रा हुन भन्छन् । तर त्यही दुई पाङग्रा सन्तुलनमा चलेनन् भने रथ अगाडि बढ्दैन् , दुर्घटनामा पर्न सक्छ । कति कुराहरु श्रीमानले बुझ्नु पर्छ भने कति कुराहरु श्रीमतीले सहनु सक्नुपर्छ । आखिरमा घरपरिवार सबै सम्हालेर राम्रो बगंैचा बनाउने काम त श्रीमतीकै हातमा हुन्छ । यि दुबै पक्ष आगो र पानी जस्तै हुनु पर्छ भन्छन् नि भन्न त । तर किन कहिले काहीँ आगो आगो र पानी पानी एकातिर हुन्छ ?
भन्छन् नि पशु बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहूँ खोज्छ । यो उमेरमा आईपुग्दा अलिअलि महसुुस हुन थालेको छ । हाम्रा बा आमाको पनि बेलाबेलामा ठाक्कठुक्क परेको देखेको थिए मैले । तर लोग्ने स्वास्नीको झगडा परालको आगो भएको थियो । हुनुपर्छ पनि यस्तै । उनीहरुलाई काम गर्नमा नै फूर्सद थिएन ।
यसै सन्दर्भमा एउटा किस्सा यहाँ राख्न चाहान्छु । एउटा घरमा लोग्ने र स्वास्नीको झगडा परेछ । उनीहरु एकआपसमा नबोल्ने भएछन् । केहि दिन त नबोलेरै बिताएछन् । भित्रीमनमा चाहीँ दुबैलाई कहिले बोलांै बोलौं भएको छ तर बोल्ने निहूँ छैन । के भनेर बोल्ने । एकदिन बुढाले एउटा आइडिया लगाएछ । बुढोले आफ्नो धोतीको फूर्को आगोको छेउमा हालेछ । बुढीले त्यो धोतीको फूर्को आगोमा डढ्न लागेको देखिछ । अनि बुढोको धोती डढ्ने भयो भनेर कोईकोई मान्छेको धोती डढ्यो भनिछ । अव त बोल्ने निहूँ चाहिएको थियो बुढालाई । अनि भनेछ नबोल्ने मान्छे पनि बोल्नै प(यो ।
यही प्रसङ्गमा मनमा एउटा बिचार आउँछ । मानिस किन जोगी बन्छ त ? किन आफ्नो भएको घरवार छोडेर हिड्छ टाढाटाढा ? यस्को उत्तर खोज्नु सजिलो त छैन । तर पनि मानवीय स्वभाव र व्यवहारलाई अनुमान भने लगाउन सकिन्छ । मानिसको मनमा यस्तै बिरह चल्छ, आफ्नो जीवनदेखि हार खान्छ, यो संसारमा आफ्नो औचित्य देख्दैन, यो संसारमा काम गरेर खानु महाभारत देख्छ, मर्नु भन्दा बौलाउनु राम्रो लागेपछि यो बाटो रोज्छन होला । जोगी भएपछि दिनभर मागेर हिड्यो भए खायो नभए भोकै सुत्यो । कसैका लागि कमाउनु पनि परेन, जमाउनु पनि परेन, कसैका लागि साँचेर जम्मा गर्नु पनि परेन । छोराछोरी परिवारको चिन्तामा डुब्नु पनि परेन । कसैको माया जालमा फस्नु पनि परेन । संसार यस्तै हो, यसरी नै चल्छ, यस्तै छ, म एउटा नभएर यो जगतमा के नै फरक पर्छ र ? जहाँ जाला जोगी भातै खाला ।
गाउँ घरवरपर छरछिमेकमा धेरै मानिसले कुनै न कुनै प्रकारबाट आफ्नो जीवनको अन्त्य गरेको पनि देखेको छु । आफ्ना सारा इच्छा, चाहाना, खुशी, मानसम्मान, प्रतिष्ठामा जव आँच आउन थाल्छ तव आफू बाँच्नुको कुनै अर्थ राख्दैन् । समाजमा आफुलाई एक्लो भएको महसुस गर्छ । आफूलाई सायद सम्हाल्न सक्तैन । आफ्नो आडभरोसा सबै टुटेको देख्छ । मनमा एकतमासको दिक्दारी पैदा होला । एकोहोरो मनलाई फर्काउन सक्तैन । त्यसपछि उ यो धर्तीबाट बिदा लिने अवस्थामा पुग्छ । त्यसपछि भगवानमा लिन हुन चाहान्छ । अनि आफ्नो जीवनलाई समाप्त पार्छ यस धर्तीबाट सदाको लागि ।
