
काठमाडौं ।काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा कविता कोलाजको पहिलो प्रस्तुति ‘नेपालभाषा कविता कन्सर्ट’ सम्पन्न भएको छ।
वडा अध्यक्ष चिनीकाजी महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर तथा प्राज्ञ मल्ल के. सुन्दर र नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा कवयित्री प्रतिसरा साय्मी अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपालभाषाका १७ जना कविले भ्वायलिन र बाँसुरीको धुनसँगै आफ्ना कविता प्रस्तुत गरेका थिए।
कविता कोलाजका संयोजक तथा कवि रजनीमिलाले संस्थाको अवधारणा प्रस्तुत गर्नुभएको थियो। कवि सञ्जयराज शर्माका अनुसार नेपालभाषाको कविता क्षेत्रमा वाद्यवादनसँगै कविता वाचन गरिएको यो नयाँ शैलीको प्रस्तुति हो। कार्यक्रमको सुरुआत दिवंगत कवि, गीतकार तथा भाषा अभियन्ता दुर्गालाल श्रेष्ठ, कवि नारायणदेवी श्रेष्ठ र कवि–पत्रकार सुरेश किरणको स्मृतिमा एक मिनेट मौनधारण तथा शोकधून बजाएर श्रद्धाञ्जली अर्पण गर्दै गरिएको थियो।

त्यसैगरी गिरीजाप्रसाद जोशी, पूर्ण वैद्य, बुद्ध सायमी र सुन्दर मधिकर्मीलगायत दिवंगत स्रष्टाका सिर्जनासमेत वाचन गरिएको थियो। कार्यक्रममा लुमन्ती चित्रकार, रत्न प्रदीप, ज्ञानकेशरी श्रेष्ठ, मिमला शर्मा, नवीन प्रकाश श्रेष्ठ, दियश रत्न शाक्य, राज अक्षोभ्य, श्रीराम श्रेष्ठ, सविना महर्जन र प्रतिसरा साय्मीलगायत स्रष्टाले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो। विशेष प्रस्तुतिका रूपमा उज्ज्वला महर्जनले ‘द मोनोलग’ प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै मल्ल के. सुन्दरले धर्मपथ क्षेत्रमा करिब ७५ वर्षअघि नै साहित्यिक गोष्ठीको सुरुआत भएको स्मरण गर्दै समय, समाज र परिवेशसँगै नेपालभाषा साहित्यको लेखन र शैलीमा पनि परिवर्तन हुँदै आएको बताउनुभयो। वडा अध्यक्ष चिनीकाजी महर्जनले मातृभाषा र नेवा: साहित्यको संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा विभिन्न पुस्ताका स्रष्टा, साहित्यकार, संस्कृतिकर्मी तथा नेपालभाषाप्रेमीको सहभागिता रहेको थियो। आयोजकका अनुसार कविता कन्सर्टले नेपालभाषा साहित्यको संरक्षण, पुस्तान्तरण र नयाँ पुस्तालाई मातृभाषामा सिर्जनाका लागि प्रेरित गर्ने उद्देश्यलाई थप बल दिएको छ।




