
हुम्ला । नेपाल र चीनको सिमाना लाप्चा नाकावाट भित्रिएको अवैध चिनीया मदिरा नाम्खा गाउँपालिका– २ को छुङ्सा र नवालथाङबाट सम्युक्त सुरक्षा टोली बरामद गरेको छ । सुरक्षा निकायलाई सुचनाको आधारमा सिमकोटबाट अनुगमनमा सो क्षेत्रमा गएको सम्युक्त सुरक्षा फौजले बेवारिसे अवस्थामा लुकाएर राखिएको उक्त मदिरा बरामद गरिएको हो ।
छुङ्साबाट ३९ लाख ६६ हजारको चिनीया मदिरा सम्युक्त सुरक्षा टोलीले नियन्त्रणमा लिन सफल भएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताए । छुङसामा लुकाई छिपाई राखेको अवस्थामा अवैध चिनीयाँ मदिरा ६०६ कार्टुन ( ७२७२ बोतल ), बोर्डवाईजर ५४ कार्टुन ( १२९६ बोतल ) र हुस्की एक कार्टुन ( १२ बोतल ) बेवारिसे रुपमा बरामद गरिएको हो । सो चिनीयाँ अवैध मदिरा बरामद गरी नियम अनुसारको प्रक्रिया पुरा गरेर अनुगमन टोलीले बरामद गरिएको स्थल मै स्थानीय जनप्रतिनिधि र अन्य स्थानीय बासिन्दको रोहवरमा खाल्डो खनेर फुटाउदै नष्ट गरिएको छ ।
अनुगमन टोलीमा प्रजिअ भोलानाथ गुरागाई, सशस्त्र प्हरी ४४ नम्बर गुल्मका गुल्मपति सप्रनाउ साउदको नेतृत्वमा १० जना, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक युवराज ढकालको नेतृत्वमा १० जना, राष्ट्रिय अनुसन्धानका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत मेघराज कँडेल, उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रकाश रावत, कोष लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो ।
यसअघि साउन २८ गते सम्युक्त सुरक्षा टोलीले सोही नाकाबाट भित्रिएको बेवारिसे अवस्था राखिएको ५१ लाख ९३ हजार छ सय रुपियाँ बराबरको रहेको छ । ५९४ कार्टुन मदिरा र १९४ कार्टुन बोर्डबाईजर रहेको थियो । सो चिनीयाँ मदिरा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । दुई पटक गरे ९१ लाख ५९ हजार छ सय रुपियाँको चिनीया मदिरा बरामद गरिएको हो ।








