
लघुकथा
सरस्वती श्रेष्ठ ‘सरु’
एक चिम्टी सिन्दूर
सहरको व्यस्त चौतर्फी सडक । मान्छेहरू हतार–हतार आफ्ना गन्तव्यतर्फ लागिरहेका थिए । ठ्याक्कै त्यही सडकको छेउमा फुलमाया कुचोले धुलो सफा गर्दै थिइन् । उसका आँखा बारम्बार बाटोतिर जान्थे । हरेक दिनजस्तै आज पनि केही नसोचिकनै उसको मनले एकजना मान्छे खोजिरहेको थियो ।
त्यो मान्छे – प्रेम, उसको जीवनमा आएको एउटा उज्यालो किरण, जसले उसको सिँगारिएको सपना पूरा गर्ने वाचा गरेको थियो । “ए फुलमाया, हाम्रो बिहेपछि म तिमीलाई कहिल्यै दुःख हुन दिनेछैन,” भन्ने वाक्य बारम्बार फुलमायाको कानमा गुञ्जिरहन्थ्यो । तर त्यो वाचा दिने प्रेम बिहेको भोलिपल्ट नै हराएको थियो ।
फुलमायाको निधारको सिन्दूर, जो उसको आशा र प्रेमको प्रतीक थियो, समयसँगै धमिलो हुँदै गएको थियो । आजसम्म प्रेमको कुनै खबर नपाएको फुलमायाले हरेक बिहान नयाँ आशामा त्यो सिन्दूर लगाइरहन्थी । मानौं, एक चिम्टी सिन्दूरले उसको जीवनमा प्रेमको खोज यात्रा समाप्त हुने हो ।
तर आज, एउटा अचम्मको दृश्य देखियो । फुलमायाले बाटोमा कुचो लगाइरहेको बेला एकजना अपरिचित मानिसले चुपचाप उसको निधारतिर हेर्दै भने, “यो सिन्दूर अझै ताजै छ, फुलमाया ।”
उसको आँखा उठ्यो। त्यही प्रेम थियो । समयले थकित,बुढो भए पनि आँखा त उही थिए,जसमा फुलमायाले जीवन देखेकी थिई ।
फुलमायाको आँसु थामिएन । त्यो एक चिम्टी सिन्दूरले अन्ततः आफ्नो अर्थ पाएको थियो ।








