
गन्तव्य
मधु पाठक
म साँचो वोलेर एक्लिएको मान्छे
असंख्य मेरा सपनालाई
चरु होमे झैं आगोमा खन्याइरहें
आफ्नै वस्ति उज्यालो वनाउन,
मेरा चिसा सपनाहरु अझै ज्यूंदैछन् ।
सुकाउन पसिना
पर्खिरहेको छु विहानको पारिलो घाम
हजारौ पटक
हिंडे कुल्चिएर धेरैले मनको आँगन
मल्हम लगाउने मायाँलु हात पर्खिरहेछु ।
सपना बाँड्नका लागि एकहूल मान्छे
सधै आउछन् मेरो वस्तिमा
म लाचार उनिहरुलाई पत्याइदिन्छु
सित्तैमा पाइने कुराको फेहरिस्त लगाउँदै
हरेक पटक गर्छन् मेरो स्वाभिमानको बलात्कार
भाचिन्छ सपना पटक पटक
आँसुको नदीमा पौडँदै
प्वालैप्वाल परेर
झुत्रो भैसकेको मनलाई सम्हाल्दै
घिसार्दै बोझिला पाइला जिन्दगीको
अब कसैवाट नलुटिने आशमा
देशको यूवाशक्ति
विना गन्तव्यको यात्रा
अघि बढाइरहँदा चिन्तामा छु
चिन्तित छन् मेरा कविताका हरफ
दुःखमा छ कलम
मौन छन मन मस्तिष्क ।
हिंडेको छु बोकेर उधारो खुशी
रोकिन्नन यी पाइला
पठाएको छु लक्ष्यलाई खबर
छैन मैले बाटो भुलेको
निरन्तर छन् यात्रारत गन्तव्यको खोजिमा
मेरा विवेक,स्वाभिमान र आस्था ।









