
काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्राप्त कृतिहरूमध्येबाट मूल्यांकन समितिले ‘सलह’लाई चयन गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
यस्तै, नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत कृष्ण धरावासीलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ ।
यस वर्षको ‘पद्मश्री गौरव पुरस्कार’ प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय समेत गरिएको छ ।
यी तीनै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ र सम्मानपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।




