
चर्चामा पुस्तक
गद्य कवितामा मोहन दुवाल
अग्रज साहित्यकार,कवि एवं साहित्यिक पत्रकार मोहन दुवालको बहुुआयामिक व्यक्तित्व छ । उनका सचेतका धुनहरु,मानवीय संवेदनाहरु ,भारतीका उत्सर्गहरु,क्रान्तकविताका अक्षरहरु,मनको मझेरीमा बल्झिएका प्रश्नहरु ,बस्तीमा राख्नु हुँदैन बाघहरु र जनमतको सडकमा घामसँग गद्य कविता कृतिहरुको बारेमा चिरफार,समीक्षा गरिएको कृति हो ।
यसमा विभिन्न ४६ जना समीक्षक,लेखक,कविहरुले कृतिका बारेमा आआफ्नो धारणा लेखेका छन् । उनीहरुले कृतिपरक भएर दुवालको व्यक्तित्व र कवित्वचेतको बारेमा मिहिन चर्चा गरेका छन् । कविको चेतनाको उच्च ढंगले प्रशंसा गर्दै उनीहरुले अक्षरको खेतीमा रमाउने व्यक्तिको रुपमा दुवाललाई लिएका छन् । नेपाली साहित्यमा दुवालको भूमिका लेखेका छन् । वैचारिक कविको रुपमा मोहन दुवाललाई लिंदै काव्यात्मक सचेतताले भरिएका कविताहरुको चर्चा गरेका छन् ।
कृतिमा आनन्ददेव भट्ट,गोपीकृष्ण शर्मा,देप्रसु,डा.रामदयाल राकेश, रत्ननिधि रेग्मी,मातृका पोखरेल,माधवलाल कर्माचार्य,विमल भौकाजी, छविरमण सिलवाल,रामसुन्दर देउजा सहित ४६ जनाले कवितामा गरेका टिप्पणीहरु संकलन गरिएको छ । कृतिलाई रामसुन्दर देउजा र श्रीकृष्ण वादेले सम्पादन गरेका हुन् ।
गद्य कवितामा मोहन दुवाललाई जनमत वाङ्मय प्रतिष्ठान नेपालले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.५०१। रहेको छ ।
मास्टर बाजे
चन्द्रबहादुर बमको यो कृतिमा आफ्ना अनुभव र अनुभूतिहरुलाई शब्दको माध्यमबाट सजाइएको छ । सुदुरपश्चिमको मौलिक लोकसंस्कृतिको अमूल्य निधि रहेको देउडालाई कृतिले प्रस्तुत गरेको छ । गणेशको चैतबाट थालनी भएर कृष्ण देउडामा टुंगिएको छ । यसमा ६७ थान विभिन्न शिर्षकका देउडा र चार थान कविता समेत समावेश गरिएको छ । राम चरित्र, कृष्ण चरित्र,जुम्ली देउडा,मालिकाको चैत,गमराको गीत,गमरा सेलाउँदा बाटोमा गाउने गीत,श्रीराम चैत,भागेश्वरी ढुस्को आदि शिर्षकमा देउडा छन् ।
देउडागीत र कविताहरुले मौलिकतालाई जोगाउन सन्देश दिन्छन् । हाम्रा परम्परा,संंस्कृति र संस्कारहरुलाई संरक्षण,सम्बद्र्धन र प्रवर्धन गर्न प्रस्तुत कृतिले सन्देश दिन्छ ।
स्थानीय लवज टपक्कै टिपेर लेखिएका देउडा गीतहरु सुन्दर छन् । सरल छन् । स्थानीय भाषाको प्रयोग छ ।
माष्टर बाजेलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.२००। रहेको छ ।
योगमाया न्यौपाने इतिहासदेखि वर्तमानसम्म
यो महामना योगमायाको योगदानको बारेमा विभिन्न इतिहासविद,अध्येता,अनुसन्धानदाता र स्रष्टाहरुले लेखेका लेखहरु समावेश गरिएको कृति हो । विशिष्ठ नारी प्रतिभा योगमायाले हिजोको निरंकुश शासकहरु सामु समाज सुधारको लागि,विभिन्न प्रचलित विकृति र विसंगतिको अन्त्य हुनुपर्ने भन्दै महिला एवं विभिन्न हिंसा र विभेद अन्त्यको लागि जीवनको उत्सर्ग गर्नु कम्ति ठूलो कुरा होइन । यहि विषयमा आफुलाई समाज सुधारकको रुपमा लागिपरेकी योगमायाको विषयमा ज्ञानमणि नेपाल,प्राडा गोविन्दमानसिंह कार्की,श्रीओम श्रेष्ठ रोदन,उत्तमप्रसाद पन्त,डा.अरुणा उप्रेती,कुन्ता शर्मा,प्रदीप नेपाल,लगायतका व्यक्तिहरुको लेख रचनाहरु कृतिमा समावेश गरिएका छन् ।
योगमायासँगै जेल परेका,योगमायासँग समाधि लिएका व्यक्तिहरुको नाम,योगमायाका नाउँमा स्थापित विभिन्न संघसंस्थाहरु र उनका शालिक र प्रतिमा,योगमायाका बारेमा लेख्रिएका कृतिहरु लगायतका विषयमा पुस्तकले जानकारी दिन्छ । महामना योगमायाको बारेमा जान्न चाहाने जो कोहिलाई कृति उपयोगी छ ।
प्रदीप सापकोटाको सम्पादनमा तयार भएको यो कृतिमा योगमायासँग सम्बन्धित अनेक तस्विरहरु पनि संलग्न छन् ।
योगमाया न्यौपाने इतिहासदेखि वर्तमानसम्मलाई न्यौपाने बन्धु समाज,नेपालले प्रकाशनमा ल्याएको हो ।यसको मूल्य रु.२५०।रहेको छ ।




