
काठमाडौँ। रसुवा, नुवाकोट र नेपालका अन्य भागहरूमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायहरूलाई तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले, ‘तेर्गार गुम्बा नेपाल’ र ‘तेर्गार संघ’ को तर्फबाट परम पूज्य योङ्गे मिङ्युर रिन्पोछेले बिहिवार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

उक्त सहयोग रकम सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। यसअघि, गुम्बाको सामाजिक सेवा शाखा ‘तेर्गार फाउन्डेसन’ ले उद्धार कार्यमा खटिने सुरक्षाकर्मीहरूका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराएको थियो।

साथै, तेर्गार गुम्बाका भिक्षुहरूले मृतकहरूको आत्माको चिर शान्ति तथा उनीहरूका शोक सन्तप्त परिवारजनको कल्याणका लागि हरेक हप्ता विशेष प्रार्थना गरिरहेका छन् ।



