
काठमाडौँ । विश्व फुटबल महासंघका अध्यक्ष जियानी इन्फान्टिनोले युरोपेली फुटबल महासंघमा महासचिव रहँदा एक महिला कर्मचारीलाई गरिएको ठूलो रकमको भुक्तानीलाई लिएर उठेको आरोप अस्वीकार गरेका छन् ।
बेलायती पत्रिका ‘द टेलिग्राफ’ले इन्फान्टिनोसँग सम्बन्ध रहेको आरोप लागेकी एक कनिष्ठ महिला कर्मचारीलाई संस्था छाड्दा ठूलो रकम र व्यवस्थापनसम्बन्धी अध्ययनको शुल्कसमेत दिइएको समाचार प्रकाशित गरेको थियो । ती महिलाको नाम भने सार्वजनिक गरिएको छैन ।
युरोपेली फुटबल महासंघले सम्बन्धित कर्मचारीलाई संस्था छाड्दा भुक्तानी गरिएको र उनको व्यवस्थापनसम्बन्धी अध्ययनको शुल्क पनि तिरिएको पुष्टि गरेको छ । महासंघका अनुसार उक्त भुक्तानी त्यतिबेला लागू नियमअनुसार नै गरिएको थियो । तर, सन् २०१६ पछि कर्मचारीसम्बन्धी नियम थप कडा बनाइएको छ ।
इन्फान्टिनोले भने आफूमाथिका आरोप पूर्ण रूपमा असत्य रहेको बताएका छन् । उनका प्रवक्ताले अनुचित आचरण वा नियम उल्लङ्घनको संकेत गर्नु मानहानिकारक भएको बताएका छन् ।
यसैबीच, विश्व फुटबल महासंघ र इन्फान्टिनोमाथि दबाब बढिरहेका बेला युरोपेली फुटबल महासंघले विश्वकपसहितका प्रतियोगिता बहिष्कार गर्न सक्ने चेतावनी दिँदै उनको नेतृत्वप्रति विश्वास नरहेको सार्वजनिक गरिसकेको छ । खेलाडीहरूको अन्तर्राष्ट्रिय संघले पनि इन्फान्टिनोको नेतृत्वप्रतिको विश्वास गम्भीर रूपमा कमजोर भएको जनाएको छ ।
दक्षिण अमेरिकी फुटबल महासंघले भने इन्फान्टिनोको भविष्यबारे तत्काल विशेष अधिवेशन बोलाउने पक्षमा नरहेको जनाएको छ । अफ्रिकी फुटबल महासंघले उनको नेतृत्वलाई समर्थन गरेको छ ।




